बाढीले जलविद्युत् केन्द्रमा क्षति पुर्‍याउँदा मुगु बिजुली विहीन

 कात्तिक ८, २०७९ मंगलबार १४:३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएकाे असोजको अन्तिम हप्तामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत् गृहमा क्षति पुर्‍याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला बिजुली विहीन बनेको छ ।

गएकाे असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढी, पहिरोले छायाँनाथ रारा नगरपालिका–४ मा रहेकाे विद्युत् गृहको ११०० मिटर लामो नहरमध्ये झन्डै ७०० मिटरमा क्षति पुर्‍याएकाे छ । यसैगरी बाढी, पहिरोबाट विद्युत् गृहको सबस्टेशनका संरचनाहरूमा पनि क्षति पुगेको छ ।

बाढी, पहिरोले क्षति पुर्‍याएकाे नहरको पुनर्निर्माण र मर्मत गर्नुपर्ने छ । नेपाल विद्युत् प्राधिकरणले क्षति पुगेका संरचनाको पुनर्निर्माण सुरु गरिसकेको छ । चुनावअघि नै पुनर्निर्माण सम्पन्न गरी बिजुली आपूर्ति गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।  

साथै वैकल्पिक व्यवस्थामार्फत बिजुली आपूर्तिका लागि प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘पुनर्निर्माणलाई तीव्रता दिने र तत्काल बिजुली आपूर्तिका लागि जेनेरेटर लगेर बिजुली उत्पादनको प्रयास गरिरहेका छौँ, उहाँले भन्नुभयो ।  

भौगोलिकरूपमा विकट मुगुमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन गरी मुगुकाे सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरूमा बिजुली आपूर्ति गर्दै आएको छ । मुगुमा बिजुली सेवा लिने ग्राहकको सङ्ख्या ३१०० छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया