जुम्लामा बाढी पहिरोले विच्छेद भएको राष्ट्रिय प्रशारण लाइन झण्डै तीन हप्तापछि मर्मत, विद्युत् सेवा सुरु

 कात्तिक १२, २०७९ शनिबार १७:२१:३२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – अघिल्लो महिना असोज १९ गते पछिको बाढीपहिरोले विच्छेद भएको राष्ट्रिय प्रशारण लाइन निर्माणपछि जुम्लामा विद्युत् सेवा सुरु भएको छ ।

झण्डै तीन हप्तापछि जुम्लामा बिजुली बलेको छ । वर्षाले क्षति गरेपछि कर्णाली राजमार्गसँगै विद्युत् सेवा समेत अवरुद्ध भएको थियो । कर्णाली राजमार्गको दैलेख, कालिकोट हुँदै जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । तर बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएको थियो । निरन्तर मर्मतको काम गरेपछि विद्युत् सेवा नियमित भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाले जनाएको छ ।

केन्द्रका प्रमुख नरेश दत्त रावलका अनुसार मर्मतपछि अहिले जुम्लामा सबै ठाउँमा बिजुलीको आपूर्ति भएको छ । दशैँ तिहारका बेला जुम्लाका धेरै जसो ठाउँमा अन्धकार भएको थियो । स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवि साना जलविद्युत आयोजनाको बिजुलीबाट जुम्ला सदरमुकाम खलंगामा केही राहत भएको थियो ।  


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया