‘भोलिको सहर’ जोखिममुक्त बनाउने अभियानमा संलग्न विज्ञको सम्मेलन सुरु

 कात्तिक १५, २०७९ मंगलबार १२:१४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विकासका नाममा अव्यवस्थित सहरीकरण बढिरहेका बेला नेपालमा ‘भोलिको सहर’लाई जोखिममुक्त बनाउने अभियानमा संलग्न विभिन्न ५ देशका विषय विज्ञको सम्मेलन सुरु भएको छ। ललितपुरमा जारी “टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन” नाम दिइएको सम्मेलनमा नेपाल लगायत टर्की, केन्या, इक्वेडर र बेलायतका वैज्ञानिक सहभागी छन्।

जलवायुजन्य असरका कारण निम्तिनसक्ने विभिन्न किसिमका विपद्का घटनाबाट पुग्नसक्ने क्षतिको पूर्व अनुमान गरी त्यही अनुसारको व्यवस्थापनका लागि सुझाव दिने उद्देश्यका साथ वैज्ञानिकहरु नेपाल, टर्की, केन्या र इक्वेडरका केही सहरको अध्ययन अनुसन्धानमा जुटेका हुन् ।

५ दिनसम्म चल्ने सम्मेलनमा विषय विज्ञहरुहरुले आ–आफ्नो देशमा भोलिको सहर परियोजना अन्तर्गत अध्ययनका क्रममा प्राप्त भएका उपलब्धि र चुनौतीबारे स्पष्ट पार्नेछन् । युके रिसर्च एण्ड इनोभेसन, बेलायतका विश्वविद्यालय, प्राक्टिकल एक्शन, नेपाल विकास अनुसन्धान संस्था, एनसेट लगायत विभिन्न संस्थाहरुको संयुक्त पहलमा सुरु भएको भोलिको सहर परियोजनाले पूर्वाधार निर्माण गर्दा भविष्यमा पर्नसक्ने विपद् र जोखिमको पूर्व आकलन गर्नेछ।

सम्मेलनमा सहभागी बेलायतमा रहेकाे इडिबर्ग विश्वविद्यालयका प्रोफसर जोन म्याक्लोस्कीले नेपाल जलवायु परिवर्तनको मुख्य जोखिममा रहेको देशमा पर्ने भएकाले नेपालको नेतृत्वले आउँदाे दिनमा कसरी सुरक्षित हुने भन्नेबारेमा आजै कुरा उठाउन जरुरी रहेको बताउनुभयो।

नेपालमा जलवायु परिवर्तनका कारण भूक्षय, हिमपात, बाढी, पहिरो लगायतका धेरै विपद्हरु बर्सेनि बढिरहेकाले नेपालले प्राकृतिक विपदमैत्री विकास गर्न आवश्यक रहेको बताउनु भयो । त्यसैगरी युनिभर्सिटी कलेज लण्डनका प्रोफेसर कार्मिन ग्लासोले विकासको मोडललाई विपद्जन्य जोखिमबाटमुक्त गर्ने बारेमा नै अध्ययन अनुसन्धान केन्द्रित भएको र विभिन्न सामाजिक सञ्जालका माध्यमबाट त्यस सम्बन्धमा जनचेतना फैलाउने काम पनि गरिरहेको बताउनु भयो ।

एनसेटका उपकार्यकारी निर्देशक डा. रमेश गुरागाईँले नयाँ पूर्वाधार र बस्तीहरुलाई जोखिममुक्त बनाउने अभियानका साथ भोलिको सहर (टुमरो सिटी) परियोजनाले नेपाल लगायत विभिन्न ४ वटा देशका केही सहरमा अध्ययन गरिरहेको स्पष्ट पार्नुभयो। 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया