फेरि मतदान गर्नुपर्ने अवस्था आउन दिन्नौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

 कात्तिक २०, २०७९ आइतबार १३:३२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

झापा – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा फेरि मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरी चुनाव सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा आज आइतवार झापाको बिर्तामोडमा निर्वाचन आयोग र नेपाल कानुन समाजले आयोजना गरेको 'निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका' विषयक कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित हुने अवस्था नहुने बताउनुभयो । उहाँले सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्त्व वा व्यक्तिलाई नियमसङ्गत कारबाही गरिने बताउनुभयो ।

कुनै पनि मतदाताले आफूलाई लोभलालच र धाकधम्कीका कारण मतदान गर्नबाट अफ्ठ्यारो स्थिति सृजना गरियो भन्ने गुनासो आउने वातावरण नै नहुने गरी आयोग देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरेको उहाँको भनाइ थियो । प्रमुख आयुक्त थपलियाले निर्वाचन आचारसंहिता र चुनाव खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र चुनाव गराइने बताउँदै उहाँले सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणाष्पद अभिव्यक्तिलाई नियमन गर्नसमेत आयोग लागिपरेको बताउनुभयो ।

चुनावकाे स्वच्छतासँगै लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको भरपूर उपभोग गर्न सक्ने वातावरणका साथ यो चुनावलाई सम्पन्न गराउन आयोग अघि बढेको उहाँले बताउनुभयाे । कार्यक्रममा झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावाली, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, जिल्ला प्रहरी प्रमुख विश्वमणि पोखरेल, नेपाल बार एसोसिएशनका पदाधिकारी, विभिन्न उम्मेदवार, जिल्लामा रहेकाे राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया