डोटीमा ठूलो भूकम्पअघि दुईवटा पूर्वकम्प, के भन्छन् विज्ञ ?

 कात्तिक २३, २०७९ बुधबार ९:१४:२२ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – डोटीमा एकै रातमा तीन पटकसम्म भूकम्प गएको छ । तीन वटै भूकम्प ४ रेक्टर स्केल भन्दा माथिका छन् । वरिष्ठ भूकम्पविद् एवं राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ डाक्टर लोकविजय अधिकारी भन्नुहुन्छ, ‘कहिलेकाहीँ ठूलो भूकम्प आउनुअघि पूर्व कम्पहरु आउन सक्छन्, गएराति पनि त्यस्तै भएको हो । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जानुअघि पूर्वकम्प गएको हो ।’

केन्द्रका अनुसार राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टरको भूकम्प जानुअघि राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पविद् अधिकारीका अनुसार ठूलो भूकम्प जानुअघि सधैं पूर्वकम्प जान्छ भन्ने हुँदैन । कहिलेकाहीँ पूर्वकम्प जान सक्छ ।

नेपालको इतिहासमा १८९० सालमा पनि ठूलो भूकम्प जानुअघि पूर्व कम्प गएको थियो । तर, २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्कलेको भूकम्प जाँदा पूर्वकम्प गएको थिएन । यस्तै, अधिकारीका अनुसार १९९० सालको ठूला भूकम्पमा पनि पूर्वकम्प गएको थिएन । यसपालि भने डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जानुअघि दुईवटा पूर्व कम्प गएको उहाँले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशमा २०५३ सालपछि क्षति हुने गरी ठूलो भूकम्प गएको थिएन । २०३७ साल र २०५३ सालमा क्षति हुने गरी ठूलो भूकम्प गएको थियो । २०३७ साल साउन १४ गते राति ८ बजेर ४३ मिनेटमा बझाङ केन्द्रविन्दु भएर गएको ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पमा एकसय ७० जनाभन्दा धेरैको ज्यान गएको थियो । त्यतिबेला १० हजार भन्दा धेरै घर भत्किएका थिए ।

यस्तै, २०५३ साल पुस २१ गते दिउँसो २ बजेर ३२ मिनेट जाँदा बैतडी केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पमा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको थियो । ठूलो भूकम्प जानुअघि त्यही ठाउँमा भूकम्प गएको छ भने त्यसलाई पूर्वकम्प भनिन्छ । ठूला भूकम्पपछि गएको भूकम्पलाई भने परकम्प भनिन्छ ।

वरिष्ठ भूकम्पविद् एवं राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ डाक्टर लोकविजय अधिकारी भन्नुहुन्छ, ‘पूर्वकम्प कति ठूलो जान्छ भन्न सकिंदैन । कुनै क्षेत्रमा स–साना भूकम्पहरु जानु भनेको त्यो क्षेत्रमा भूकम्पीय शक्ति जम्मा भइरहेको छ भन्ने जनाउँछ भने त्यस्तो ठाउँमा कुनै दिन ठूलो भूकम्प आउने जोखम वा सम्भावना पनि रहन्छ ।’

यसरी नेपालमा पटक पटक गइरहने ससाना भूकम्पहरूले पनि नेपाल भूकम्पीय जोखिम क्षेत्रमा रहेको थाहा हुन्छ ।

 


अन्तिम अपडेट: चैत १५, २०८०

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया