डोटीमा भूकम्पमा परि ज्यान गुमाउनेको परिचय खुल्यो : स्थानीयबासिन्दाले चौरमा रात बिताए

 कात्तिक २३, २०७९ बुधबार ७:१:३३ | विमल बिष्ट
unn.prixa.net

डाेटी – डोटीमा भूकम्पमा परेर ज्यान गुमाएका ६ जनाको परिचय खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार भूकम्पमा परि पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ५० वर्षीय पदम बोहराको घर भत्किदा उहाँकी ४० वर्षीया श्रीमती भगवतीदेवी बोहरा, ८ वर्षका छोरा हर्क बोहरा, १३ वर्षीया छोरी सिता बोहराको ज्यान गएको छ ।

यस्तै त्यही ठाउँका उमेर नखुलेका प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको ज्यान गएको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिनुभयो । बेपत्ता रहेका दुई जनाको सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर गएराति गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महावीर बोहरा, ४० वर्षीया इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीया चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

गैरागाउँमा ८ वटा घर भत्किएका छन् । भूकम्पले पूर्वीचौकी गाउँपालिका–३ का धेरैजसो घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भूकम्पपछि जोखिम बढेको र घर चर्किएका कारण स्थानीयवासीले चौरमा बसेर रात बिताएका छन् ।

तस्बिर : सामाजिक सञ्जाल/फेसबुकबाट

अन्तिम अपडेट: चैत १४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया