विश्व कप खेलेर फर्किएकाे यूएईसँग खेल्न पाउनु नेपाललाई फाइदाजनक : प्रशिक्षक प्रभाकर

 कात्तिक २७, २०७९ आइतबार १९:२८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकारले संयुक्त अरब इमिरेट्स (यूएई) सँगको तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि अनुभव बटुल्ने अवसर भएको बताएका छन् । 

आज आइतवार नेपाल क्रिकेट सङ्घ (क्यान) ले यूएईसँगको शृङ्खलाअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक प्रभाकारले विश्व कप खेलेर फर्किएको टोली यूएईसँग खेल्नु अवसर र चुनौती दुवै रहेको बताएका हुन् । उनले युवा खेलाडीको बाहुल्यता भएको टोलीले शृङ्खलामा राम्रो प्रदर्शन गर्ने अपेक्षा राखे । 

यूएईसँग खेल्न पाउनु लिग–२ को शृङ्खला खेलिरहेको नेपाली टिमका लागि फाइदाजनक रहेको प्रशिक्षक प्रभाकरले बताए । उनले नेपाली टोलीको प्रदर्शनमा सुधार भइरहेको भन्दै खुसी पनि व्यक्त गरे । 

पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले शृङ्खला आफ्नो पक्षमा पार्ने बताए । नेपाली टोलीका नवनियुक्त कप्तान रोहितकुमार पौडेलले भर्खरै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटबाट खेलाडीलाई अभ्यास पुगेको भन्दै यूएईसँगको खेल राम्रो हुने अपेक्षा राखे । विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिदेशीय शृङ्खलाअघि विश्व कप खेलेको टोलीसँग अनुभव सँगाल्ने राम्रो अवसर भएको उनकाे भनाइ छ । 

यस्तै यूएई टोलीका कप्तान सिपी रिजवानले नेपाल भ्रमण यसअघि पनि गरिरहेको र केही खेलाडीमा नेपालको प्रतियोगितासँग अनुभव भएको भन्दै प्रतिस्पर्धात्मक खेल हुने धारणा राखे । 

यूएईसँगको खेलका लागि गएकाे शुक्रवार क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो । 

यस्तै क्यानले यूएईसँगको एकदिवसीय शृङ्खलाका लागि टिकट मूल्य पनि तय गरेको छ । क्यानले शृङ्खलाकाे टिकट मूल्य दुई सय रुपैयाँ राखेको जनाएको छ । टिकट प्रभु पेबाट किन्न सकिनेछ । 

नेपालले यूएईसँग तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत सोमवार पहिलो खेल खेल्दैछ । यस्तै दोस्रो खेल बुधवार र तेस्रो खेल शुक्रवार हुने तालिका छ । खेल कीर्तिपुरकाे त्रिवि मैदानमा हुनेछ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया