गोरखा, लमजुङ र तनहुँका लागि अहिले ठूलो अवसर आएको छ : प्रचण्ड

 कात्तिक २८, २०७९ सोमबार १७:६:५२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गोरखा, लमजुङ र तनहुँका लागि ठूलो अवसर आएको बताउनुभएको छ । यस अवसरलाई यहाँका नागरिकले कुनै पनि हालतमा गुम्न दिन नहुने उहाँकाे भनाइ थियाे ।

लमजुङको राइनास नगरपालिका ४ अल्काटार सातबिसेमा लोकतान्त्रिक वाम गठबन्धन लमजुङले आयाेजना गरेकाे चुनावी सभालाई आज सोमवार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘अहिले यस क्षेत्र र जनताका लागि ठूलो अवसर आएको छ । यसलाई गुम्न दिन हुँदैन’, उहाँले भन्नुभयो, ‘पारिपट्टी (गोरखा) क्षेत्र नं २ बाट म उम्मेदवार छु । यहाँ (लमजुङ) मा माओवादी केन्द्रका महासचिव देव गुरुङ खडा हुनुहुन्छ । अलि उता (तनहुँ) मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खडा हुनुहुन्छ । यी तीनै वटै नेतृत्वलाई एक ठाउँमा केन्द्रित गरेर विकासको नयाँ उचाइमा लैजान सकिने सम्भावना छ । यसलाई गम्भीररूपमा ध्यान दिन सबैमा आग्रह छ ।’  

त्यही प्रसङ्गमा प्रचण्डले आफूहरू आ–आफ्नो पार्टीमा नेतृत्वमै रहेको र भोलि सरकारको नेतृत्व पनि यहीँ वरिपरिबाट हुनसक्ने सम्भावना रहेकाे बताउनुभयो ।

अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले जबसम्म देशमा संविधान, लोकतन्त्र, शान्ति र नागरिककाे अधिकारमाथि खतरा–चुनौती रहन्छ तबसम्म गठबन्धन कायम रहिरहने बताउनुभयो । ‘अब अर्को प्रयोग हुँदैन । कतिपयलाई लाग्छ प्रचण्डले फेरि के गर्छ पछि ? मैले ज्ञान प्राप्त गरेर आएको छु, केपीसँग एकता गरेर । त्यो ज्ञान अब यताउता हुनेवाला छैन । यही गठबन्धनलाई लिएर जाने हाे’, उहाँले थप्नुभयो ।

पालिका चुनावमा गठबन्धनको पक्षमा दुई तिहाइ मत छ भन्ने सावित गरिएको जिकिर गर्दै उहाँले आउँदाे चुनावमा लोकतान्त्रिक वाम गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया