उम्मेदवार घरघर पुगेर मत माग्न व्यस्त (तस्बिरहरू)

 कात्तिक २९, २०७९ मंगलबार १३:५७:१६ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिएका विभिन्न राजनीतिक दलका सहित स्वतन्त्र उम्मेदवार मतदाताको घरघरमा पुगेर मत माग्न व्यस्त छन् । 

रामेछापमा चुनावमा उठेका उम्मेदवार पहिलो चरणको चुनावी सभा सकेर दोस्रो चरणको चुनावी कार्यक्रम लिएर मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । मतदातासँग मत माग्न केही दिनमात्रै बाँकी हुँदा उनीहरू यतिखेर घरदैलोमा व्यस्त भएका हुन् ।

रामेछापमा एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा छ । प्रतिनिधि सभातर्फ रामेछापमा सत्तारूढ गठबन्धनका उम्मेदवार पूर्णबहादुर तामाङ र नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुंगेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

रामेछापमा मतदाता सङ्ख्या एक लाख ८० हजार एक सय छ रहेको छ । रामेछापमा १७ वटा राजनीतिक दल र स्वतन्त्र गरी प्रतिनिधि सभा सदस्यमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा (क) तर्फ ११ र (ख) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

२०७४ सालको चुनावमा रामेछापमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच (वाम गठबन्धन) तालमेल भएको थियो । वाम गठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठले ४२ हजार एक सय १७ र उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले ३५ हजार सात सय ७१ मत प्राप्त गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया