सर्लाही–३ मा सत्ता गठबन्धनबाट माओवादीका साह र एमालेका उप्रेतीबीच प्रतिस्पर्धा

 मंसिर १, २०७९ बिहिबार १५:४६:२१ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाही क्षेत्र नम्बर ३ मा सत्तापक्षीय गठबन्धन दल र विपक्षी गठबन्धन दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्तापक्षीय गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह र विपक्षी गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार हरि उप्रेतीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्तापक्षीय गठबन्धन दलका उम्मेदवार साह र विपक्षी दलका उम्मेदवार उप्रेती दुवै संविधान सभाका पूर्वसदस्य हुनुहुन्छ । सत्ता गठबन्धन दलका उम्मेदवार साह २०७० को दोस्रो संविधान सभा चुनावमा तराई–मधेस सद्भावाना पार्टी (तमसपा) को समानुपातिकतर्फका संविधान सभा सदस्य हुनुहुन्थ्यो भने उप्रेती नेकपा एमाले सर्लाही ३ नम्बर क्षेत्रबाट प्रत्यक्ष निर्वाचित संविधान सभा सदस्य हुनुहुन्थ्यो ।

साह व्यापारी पृष्ठभूमि हुँदै २०७० सालको दोस्रो संविधान सभाबाट  राजनीतिमा लाग्नुभएको हो । उप्रेती २०६४ को पहिलो संविधान सभा चुनावमा यसै क्षेत्रबाट नेकपा एमालेबाट चुनावमा उठ्नुभएकाे थियो । त्यस चुनावमा पराजित हुनुभएका उप्रेती दोस्रो संविधान सभा सदस्य निर्वाचन २०७० मा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उप्रेतीले २०७४ को प्रतिनिधि सभा सदस्य चुनावमा भने टिकट पाउनुभएन । दुई दल माओवादी र एमालेबीच चुनावी तालमेल भएपछि यस क्षेत्रबाट माओवादी केन्द्रका रामेश्वर रायले टिकट पाउनुभएको थियोे । दोस्रो संविधान सभा चुनावमा तमसपाबाट समानुपातिक संसद् बन्नुभएका साह २०७४ को प्रतिनिधि सभा सदस्य चुनावमा यसै क्षेत्रबाट स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो ।

विपक्षी दलका उम्मेदवार उप्रेती दुई पटक २०६४, २०७० मा चुनावमा उठिसक्नु भएकाले राजनीतिमा उप्रेतीको जनआधार तुलनात्मकरूपमा बलियो देखिने अधिवक्ता रमेश न्यौपानेको विश्लेषण छ । उप्रेती लामो समयदेखि राजनीतिमा सक्रिय रहेका कारण युवादेखि पाका उमेरसम्ममा लोकप्रिय रहेको न्यौपानेको बुझाइ छ । त्यसैगरी सत्ता गठबन्धन दलका उम्मेदवार साह व्यापारिक पृष्ठभूमिबाट आउनुभएकाले उहाँको परिचय व्यापारी र समाजसेवीको मात्र भएकाले राजनीतिज्ञ हुन केही समय लाग्ने उहाँको तर्क छ ।  

गएकाे वैशाखमा भएकाे पालिका चुनावमा स्थानीय उम्मेदवारले पाएको मतलाई प्रतिनिधि सभा सदस्य चुनावमा आधार मान्न नहुने पत्रकार अर्जुन मैनालीको विश्लेषण छ । पालिका चुनावमा पाएको मतको आधारमा कुन पार्टी बलियो छ र कुन कमजोर छ सहजै आँकलन गर्न नसकिने मैनालीको भनाइ छ । विपक्षी गठबन्धन दलका उम्मेदवार उप्रेतीलाई भोट माग्न उहाँका भाइ अभिनेता निखिल उप्रेती दुई हप्तादेखि सर्लाही क्षेत्र नम्बर ३ मा सक्रिय हुनुहुन्छ । अभिनेता उप्रेतीले नगारिकसँग भोट माग्दा इमानदार र असल स्वभाव भएका उम्मेदवारलाई भोट दिन आग्रह गर्नुभएको छ । 

सर्लाही क्षेत्र नम्बर ३ मा मतदाताकाे सङ्ख्या एक लाख २७ हजार ३४ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । अङ्कगणितीय हिसाबले ५१ वडा रहेको क्षेत्र नम्बर ३ मा गएको पालिका चुनावमा नेपाली कांग्रेसले १३, नेकपा एमालेले ११, नेकपा माओवादी केन्द्रले १४, जनता समाजवादी पार्टी (जसपा) ले १०, एकीकृत समाजवादी पार्टीले दुई र बहुजन एकता पार्टीले एक वडा जितेको छ । यसलाई आधार मान्दा सत्तापक्षीय गठबन्धन दलको उम्मेदवार साहको पक्षमा २९ वटा वडा देखिन्छ । त्यसैगरी विपक्षी दलका उम्मेदवार उप्रेतीको पक्षमा २१ वटा वडा देखिन्छ । बहुजन एकता पार्टी दुवै गठबन्धन दलसँग समावेश छैन ।

अन्तिम अपडेट: चैत १५, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया