ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक : प्रचण्ड

 मंसिर १, २०७९ बिहिबार १७:४६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गर्नुभएको छ । काठमाण्डाै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उहाँमा प्रधानमन्त्री बन्ने दृढता रहेको अध्यक्ष दाहालको भनाइ थियो । 

आज बिहीवार काठमाण्डाैमा आयोजित चुनावी सभामा बोल्दै उहाँले मङ्सिर ४ गतेको चुनावलाई नेपाली नागरिकले प्रतिगमनलाई परास्त गर्ने अवसरको रूपमा लिनुपर्ने समेत जिकिर गर्नुभयाे । अध्यक्ष प्रचण्डले केपी ओलीले संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको आराेप लगाउनुभयाे । 

उहाँले भन्नुभयो, ‘ओनसरी घर्ती महिला प्रधानमन्त्री बन्न लायक सङ्घर्षशील महिला हो । त्यस कारण यस क्षेत्रका लागि एक ऐतिहासिक अवसर नै आएको छ । हाम्रो गठबन्धन संविधानको रक्षाको निम्ति, स्थिरता र विकासको निम्ति हो । अर्को पनि एउटा गठबन्धन छ । केपी ओलीको नेतृत्वमा । तर उनीहरू गठबन्धन भन्दैनन् । उनीहरू राजावादी छन् । राजतन्त्र फर्काउने कुरा गर्छन् । संविधान मिच्ने र च्यात्ने कुरा गर्छन । अनि फेरि भोट माग्न जनताकाेमा आउँछन् ।

अध्यक्ष प्रचण्डले मङ्सिर ४ गतेको चुनावमा प्रतिगमनलाई परास्त गर्न सकिए देश विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले सत्तारूढ दलहरू प्रतिगामी शक्तिहरूलाई परास्त गरेर सबै शक्तिको साथ देशको समृद्धिको अभियानमा लाग्न प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया