जुम्ला प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही विजयी

 मंसिर ७, २०७९ बुधबार १९:२८:३७ | नेत्र शाही
unn.prixa.net

विजयी भएपछि शाही । तस्बिर : नेत्र शाही/जुम्ला

जुम्ला – जुम्ला क्षेत्र नम्बर १ काे प्रदेश सभा (क ) मा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी हुनुभएकाे छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार शाही ९ हजार ६ सय ५४ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कर्णालीका सभापति ललितजंग शाहीले ७ हजार ७ सय ५५ मत पाउनुभएकाे छ । उहाँहरूबीच १ हजार ८ सय ९९ काे मतान्तर रहेकाे छ । 

देवेन्द्रबहादुर शाहीकाे परिचय

प्रदेश सभामा निर्वाचित शाही चन्दननाथ नगरपालिका १० वारकोटेबाडाका बासिन्दा हुनुहुन्छ । ५९ वर्षका शाहीले जुम्लाको कर्णाली प्राविधिक शिक्षालयबाट प्राविधिक शिक्षा हासिल गरेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा जागिर खाँदै २०४६ सालमा जनमोर्चामा आबद्ध हुनुभयाे । नेपाली कांग्रेस जुम्लाका पूर्वसभापति स्व. मानव सेजुवालका स्कुले साथी भएकाले शाही २०५६ सालमा प्रजातान्त्रिक कांग्रेसमा आबद्ध हुनुभयाे । शाही जिल्ला कोषाध्यक्ष हुँदै १२ औँ र १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । 

चुनावमा पार्टीले टिकट नदिएपछि शाहीले विद्राेह गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएकाे थियाे । विजय भएपछि शाहीले पार्टीले टिकट नदिएर विद्राेह गरेपछि जनताले गुन लगाएका र जनताको काम गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया