सडक अलपत्र पार्ने निर्माण कम्पनीकाे एक्स्काभेटर र ट्र्याक्टरमा नगरपालिकाले ताला लगायाे

 मंसिर १३, २०७९ मंगलबार २०:३५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काम अलपत्र पार्ने निर्माण कम्पनीको एउटा एक्स्काभेटर र दुई वटा ट्र्याक्टरमा ताला लगाएको छ । दिक्तेलको हाटडाँडा–काफ्लेगाउँ–घुम्तीबर सडक र भुते जिरो प्वइन्ट–आयुर्वेद सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै निर्माण कम्पनी लगलगे कन्स्ट्रक्नशको एउटा एक्स्काभेटर, लु ३ त ८७६८ र ना ६ त २६१ नम्बरको ट्र्याक्टरलाई साङ्लोले बाँधेर ताला लगाइदिएको हो । 

झन्डै आठ महिना म्याद बाँकी रहँदा निर्माण व्यवसायीले निर्माणस्थलमा रहेको मेशिनरी सामान अन्यत्र लैजान थालेको पाइएपछि आज मङ्गलवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ लफ्याङका वडाध्यक्ष एवम् नगर प्रवक्ता दिनेशकुमार घिमिरे र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईले टेकेटार पुगेर एक्स्काभेटर र ट्र्याक्टरलाई फलामको साङ्लोले बाँधेर ताला झुन्ड्याइ दिनुभएकाे छ । 

सडक स्तरोन्नतिको काम पुनः सुरु नहुञ्जेल वा अर्को व्यवस्था नभएसम्मका लागि हेभी मेशिनरी सामानमा ताला लगाइएको नगर प्रवक्ता घिमिरेले बताउनुभयो । सडक स्तरोन्नतिको कामलाई द्रुत गतिमा सम्पन्न गर्नतिर लाग्नुको सट्टा निर्माणस्थलमा भएका सामान अन्यत्र लगेर कामलाई झनै पछि धकेल्न खोजेकाले ताला लगाइएको नगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया