कतार विश्व कपको सरगर्मी काठमाण्डौसम्म (फोटोफिचर)

 मंसिर १७, २०७९ शनिबार १०:५३:३५ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - कतारमा चलिरहेको फिफा विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत प्रि क्वाटर फाइनलमा पुग्ने १६ देशको टुङ्गो लागिसकेको छ । अरु १६ देश प्रतियोगिताबाट बाहिरिसकेका छन् । आजदेखि प्रि क्वाटर फाइनलका खेलहरु सुरु हुँदैछन् ।

विश्व कप फुटबल मध्यपूर्वमा र यस समयमा हुन लागेको यो पहिलो पटक हो । यससँगै कतार विश्व कप फुटबल आयोजना गर्ने पहिलो अरब देश बनेको छ । सन् २०२२ को विश्व कप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो । उसले अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछाडि पारेर यो अवसर आफ्नो पोल्टामा पारेको थियो । यतिबेला कतारमा भइरहेको फिफा विश्व कप हेर्नेहरुको भिड विश्वभर नै छ ।

नेपालमा पनि फिफा विश्व कप हेर्नका लागि होटल, रेष्टुराँहरु राति प्रायः बुक हुने गरेका छन् । यतिसम्मकी होटल, रेष्टुराँ मात्रै होइन, सडकमै प्रोजेक्टर राखेर विश्व कप हेर्ने जमात पनि कम छैन । यस पटकको विश्व कप विगतको भन्दा धेरै नै रोचक बनिरहेको पनि छ । किनभने फुटबलका महारथी मानिने देशहरु कमजोर मानिएका देशहरुसँग पराजित भइरहेका छन् । जसकारण नकआउट चरणमा पुगेका देशहरुको समीकरण पनि हेर्न लायक बनिरहेको छ ।

आफ्नो मन परेको टिमलाई साथ, सहयोग गर्न रातभर जागा बसेर भएपनि समर्थकहरु विश्व कपका हरेक खेलहरु हेर्न छुटाउँदैनन् । घरमा ल्यापटप, कम्प्युटर, मोबाइलमा हेर्नुभन्दा कतै नजिकको होटलमा गएर प्रोजेक्टरमा खेल हेर्नुको मज्जा नै बेग्लै हुन्छ ।

त्यसैले पनि होला हिजोआज काठमाण्डौ उपत्यकाका विभिन्न होटलहरु राति पर्यटकहरुले होइन, विश्व कप हेर्नेहरुले भरिभराउ देखिन्छन् । होटलमै पार्टी, होटलमा नै रमाइलो साथमा विश्व कपको मज्जा लिन युवाहरु चुक्दैनन् । होटलहरुले पनि विश्व कपका लागि छुट्टै प्याकेज निकालेका छन् ।

यतिबेला होटलमा मात्रै विश्व कप सीमित भने छैन । जाडोमा घरको आँगनमा नै प्रोजेक्टर राखेर हेर्नेहरुको जमात पनि बाक्लै छ । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले फिफा विश्व कप २०२२ को यो अवसरमा विश्व कप हेर्नेहरुको गतिविधिहरुका बारेमा कैद गरेका यी तस्बिर आजको फोटो फिचरमा ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया