हार्नेलाई हाइसञ्चो, जित्नेको जालझेल  !

 मंसिर १८, २०७९ आइतबार १२:१९:३७ | मिलन तिमिल्सिना
unn.prixa.net

भोट गन्ती अझै लम्बिएको भए जित्नेले हार्न र हार्नेले जित्न पनि सक्थे । त्यो अवस्थामा कसैको हारजित हुँदैनथियो । सबै समान हुन्थे । जमानत जफत हुनेलाई पनि जित्छु भन्ने लागिरहन्थ्यो । तर यो पालि गन्नेहरुले गडबड गरे । ढिलो नगरि फटाफट भोट गने, हारजित छिटो टुङ्ग्याइदिए । अरुले सोचे होलान् हार्नेलाई तनाव भो, जित्नेलाई मस्ती । तर भएको छ उल्टो– हार्नेलाई हाइसञ्चो छ, जित्नेले जालझेल बेहोर्नु परेको । कसरी भन्नुहोला, ल सुन्नुहोस् यसरी ।

मतगणना सकिन सकिन लाग्दा हार्नेलाई लाग्यो, अब जितिँदैन । जित्नको लागि देखेजानेको सबै जुक्तिबुद्धि लगाएकै हुन् । गणकले आफ्नोमा एउटा धर्काे तान्न बिर्सियो भनेर एक मुठा मतपत्र तीन पटक गन्न लगाए । कहिले फलामे बारलाई भत्काउँलाझैँ गरेर झम्टिए । कहिले बसेकै कुर्सी भाँचिने गरी बुर्लुक्क उफ्रिए । बाकसमा ढुसी परेछ भनेर रिसाए, मतपत्र कुच्चिएछ भनेर ठुस्किए । फेरि गन्नु भनेर कराए । अर्कोपटक देख्लास् भनेर तर्साए । जति जोडबल गरे पनि आफ्नो चिह्नमा स्वस्तिक छापको थोप्लो नदेखिएपछि मुर्मुरिँदै फर्किए ।

घरमा श्रीमतीले के भयो भनेर सोध्दै थिइन । धाँधली भयो भन्दै भित्र पसे र खाटमा लम्पसार परेर सिरकले मुख छोपेर सुते । चुनावमा भोट माग्न हिँडेदेखि मतगणनामा मतपत्र हेर्दासम्मको थकाइले लखतरान परे पनि मरिगए निद्रा लागेन । मनमा कुराको हुण्डरी चल्न छाडेन । हुण्डरी घरी मनको आकाशमा उड्थ्यो, घरि पाताल छुन जान्थ्यो । जितेको भए के-के हुन्थ्यो ? अहिले अबीरजात्रा भैसक्थ्यो । गालाभरी अबीर, गलाभरी खादा र माला । बधाई र शुभकामना थाप्न भ्याइनभ्याइ । संसदमा थरीथरीका मान्छेसँगको भेटघाट, हाँसीमजाक र रमझम । कुर्सीमै अढेस लगाएर निदाउन पाइने, रिस उठेमा त्यही कुर्सी हुत्याएर मन बुझाउन पाइने । कार्यकक्षमा फराकिलो कोठा, घुमाउने कुर्सी टेबुलमा झण्डा । बाहिर निस्कँदा पिर्के सलामी । बेलुका टुच्च पार्टी, हल्का नशामा सुसेल्दै घर फर्कदाको आनन्द मात्र हुँदैनथ्यो, पाँच वर्षसम्म बस्दा चुनाव खर्च उठाएर एउटा घर नभए पनि घडेरीसम्म थपथाप गर्न पाइन्थ्यो । हेर त अब त्यतिका खर्च कहाँबाट कसरी उठाउने । बाँडेको पैसा फिर्ता ले भन्न पनि नमिल्ने । बिजोग हुने भयो । 

....आ तर केही भएको छैन । इमानदार भएरै काम गरे पनि अरुले भ्रष्टाचार गर्यो भन्थे । विपक्षीले टिकीखान दिँदैनथिए । यसको पनि कचकच, उसको पनि कचकच, कहिले यो गर्नुपर्यो भन्थे, कहिले उ गर्नुपर्या भन्थे । कसको मात्र कतिथोक गरेर साध्ये । न बेलामा भात खान पाइने, न अबेरसम्म सुत्ने पाइने । चुनावअघि के-के मात्र गर्छु भनिएन, त्यो सबै कहाँ गर्न सकिन्थ्यो ? चुनावमा भनेजस्तो सबैका आँगन आँगनमा सडक, भान्साभान्सामा धारा, बसीबसी माम, उठीउठी काम, खल्तीभरि दाम कहाँबाट पुर्याउने ? चुनाव जिते पनि मज्जा हुने त केही दिन मात्रै न हो, त्यसपछि सधैँ तनाव नै तनाव हुन्थ्यो । अब ढुक्क भइयो, कम्तीमा तनाव र झमेला त हुन्न । जितेँ भनेर मक्ख परेको त्यो प्रतिस्पर्धीलाई हेरौँला नि कतिदिन चुरीफुरी गर्दाे रहेछ ? त्यसका दुःखका दिन सुरु भएपछि मलाई बल्ल मज्जा आउँछ । त्यसलाई सजिलै काम गर्न कहाँ दिउँला र ? अहिले अबीर घसेर हिँडेको छ, अलि दिनपछि मुख कालोनिलो पार्नु पर्ने बनाउँछु, अलि पछि त त्यस्लाई कालोमोसो नै दलाउँछु । अनि जितको मज्जा थाहा पाउँछ ।

हार्नेको हाइसञ्चोले जित्नेका विरुद्ध जाल सुरु भैसक्यो, तर जित्ने जितको नशामै दंग छ । भोट जितेपछि त मज्जै भयो । अझै अलिदिन अबीरजात्रा गर्न पाइन्छ । गालाभरि रातो दल्न र गलाभरी फूलमाला भिर्न पाइन्छ । बधाई र शुभकामना थाप्न मज्जै हुन्छ । यसले पनि बोलाउँछ, उसले पनि बोलाउँछ । मक्ख पर्दै सेल्फी खिच्न कम झटक हुँदैन । तर यस्तो मज्जा बढीमा महिना दिन न हो । त्यसपछि त यसले पनि यसो गर्नुपर्याे भन्छ, उसले उसो गर्नुपर्याे भन्छ । घरमै घुइँचो, अफिसमै घुइँचो । न राम्रोसँग खान पाइन्छ, न सुत्न । 

चुनावमा जितिँदैन कि भनेर के-के गर्छु भनियो, आफैँलाई सम्झना छैन । साथीहरुले गाउँका कोही पनि विदेश जान पर्दैन, गाउँमै काम मिलाइदिन्छु भनेको थिइस् अब कसरी मिलाउँछस् भनेर सोधेका छन् । कसरी मिलाउनु ? आफू त अहिलेसम्म बेरोजगार भएर बल्ल काम मिल्यो । चुनावको बेलामा त के-के भनियो के-के भनियो नि ! उम्मेदवार हुँदासम्म त सबैथोक गर्छुजस्तो लाग्थ्यो । तर जितेपछि किन गर्नु जस्तो लाग्दो रहेछ । अहिलेदेखि नै सकिँदैन भन्न पनि मिलेन । अब भोलिपर्सिदेखि मान्छेको लाइन लाग्छ । एउटाले काम माग्छ, अर्कोले माम माग्छ, अर्कोले दाम माग्छ । दाम त आफैंँलाई चाहिएको छ, चुनावमा त्यतिका खर्च गरियो । लुकीलुकी कतिलाई बाँडियो । साथीहरु अझै भोज कहिले भनेर सोध्दैछन् । कतिका चित्त बुझाएर साध्ये । अहिले भएको खर्च पाँच वर्षमा उठाउन सकिएला कि भन्ने आश त छ । तर के गर्नु, खान्छ र सुघौँला भनेर विरोधी नाक चुच्चो पारेर घुम्न थालिसके । उनीहरुको नाकमा गन्ध नआउने गरेर र आँखा छलेर खान गाह्रो छ । 

त्यसमाथि मन्त्री बन्न पाइने हो कि होइन भन्ने छुट्टै चिन्ता छ । यतिका दुःख गरेपछि एउटा झण्डा भएको गाडीमा सररर गुड्न पाए त मज्जै हुने हो । तर मन्त्रीको पद आफ्नो पार्टीको भाग आउँछ कि आउँदैन ? पार्टीको आए पनि आफूलाई पर्छ कि पर्दैन ?

चुनाव जितेकोमा एक मन खुशी भए पनि अर्को मन झन् डराएको छ । बरु हारेको भए आनन्दै हुन्थ्यो । एक दुई दिन त टेन्सन हुन्थ्यो नि, त्यसपछि त आनन्दको लाइफ । न चुनाव जितेर सुख छ, न हारेर !

अन्तिम अपडेट: पुस २०, २०७९

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया