बैतडीकी माया लुहार हत्याका आराेपी सशस्त्र प्रहरी जवान पक्राउ

 मंसिर १८, २०७९ आइतबार १४:४७:१९ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् । कोली आज आइतवार महेन्द्रनगरकाे बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् । 

प्रहरी निरीक्षक भरत गिरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न रहेको आरोप लागेका बैतडीको शिवनाथ गाउँपालिका–४ का सशस्त्र प्रहरी जवान कोलीलाई पक्राउ गरेको हो । बिदामा घर आएका बेला मायाको हत्या गरेको कोलीमाथि आरोप छ । मायाका परिवारजनले कोलीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि उनको खोजी भइरहेको थियो । 

यही मङ्सिर १३ गते बैतडीमा मायाको घाँटी रेटेर हत्या गरिएको थियो । मायाको साथमा रहेकी नेहा लुहारको समेत घाँटी रेटेर हत्याको प्रयास गरिएको थियो । घाइते अवस्थामा भेटिएकी नेहाको अहिले उपचार भइरहेको छ । बैतडीको शिवनाथ गाउँपालिका–६ काे शिवनाथ मन्दिर नजिकै मायाको शव फेला परेको थियो भने नेहा घाइते अवस्थामा भेटिएकी थिइन् । 

कास्कीको पोखरामा रहेकाे हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत कोली बिदामा घर आएका बेला याे घटना घटेको हो । घटना लगत्तै कोली गाउँबाट फरार रहेपछि हत्यामा उनको संलग्नता रहेको आशङ्का गरिएको थियो । प्रहरी स्राेतका अनुसार प्रारम्भिक बयानमा कोलीले मायाको हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीमा मुद्दा चलिरहेकाले कोलीलाई आजै बैतडी पठाउने तयारी गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया