दिल्ली नगर निगममा आम आदमी पार्टीकाे बहुमत

 मंसिर २१, २०७९ बुधबार २०:२७:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतकाे दिल्ली नगर निगम (एमसीडी) मा लगातार १५ वर्षदेखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पार्टी (भाजपा) को चुनावी हार भएको छ । चुनावमा आम आदमी पार्टीले बहुमत ल्याएकाे छ ।

स्थानीय निकायको चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि आज बुधवार भएको दिल्लीको स्थानीय निकायको चुनावमा हार बेहोरेको हो ।

अहिले दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को चुनावमा बहुमत सिटमा विजयी भएको छ । 

दुई सय ५० सदस्यीय एमसीडी सदनमा आम आदमी पार्टीले एक सय ३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले एक सय चार वडामा विजय हासिल गरेका छन् । यस्तै कंग्रेसले नाै सिट र अन्य स्वतन्त्रले तीन सिट जितेका छन् ।  

एमसीडीमा बहुमत सिट जितेपछि आम आदमी पार्टीले चाँडै नै दिल्लीको मेयर पदका लागि आफ्नो उम्मेदवार नियुक्त गर्ने अपेक्षा गरिएको छ ।  

पछिल्लो एक महिनामा राष्ट्रिय राजधानीमा आप र भाजपाबीच चर्को चुनावी प्रतिस्पर्धा देखिएको थियो । आपको मुख्य चुनावी प्रतिबद्धता दिल्लीका विभिन्न कुनामा बनेका फोहोरका थुप्राहरू हटाउने प्रयासहरूसहित दिल्लीलाई स्वच्छ र सफा सहर बनाउने रहेको थियो ।

अन्तिम अपडेट: माघ १, २०७९

तपाईको प्रतिक्रिया