लमजुङको भलामचौर गाउँ : प्राकृतिक सौन्दर्यलाई हेरि अघाउँदैन मन, थाक्दैनन् आँखा !

 मंसिर २५, २०७९ आइतबार १९:४५:५३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – ‘मुसुक्क’ मुस्कुराउने हिमाल । बयली खेल्दै बगिरहने मर्स्याङ्दी नदी । हिमाल र नदीको काखापोल्टामै छ, प्रकृतिले फुर्सदमा सिँगोरे झैँ लाग्ने लमजुङको भलामचौर गाउँ । भलामचौरको सौन्दर्यलाई हेरेर यहाँ पुग्नेको मन अघाउँदैन, आँखा थाक्दैनन् ।

त्यही भलामचौर पुग्ने धोको थियो सुमन गिरीलाई पनि । उहाँ पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख हुनुहुन्छ । फुर्सद र बिदाको समय मिलाएर भलामचौरको प्राकृतिक, सांस्कृतिक सौन्दर्यलाई नजिकैबाट नियाल्न केही दिनअघि उहाँसाथीभाइका साथ भलामचौर पुग्नुभएको थियो ।

गाउँ पुग्ने बित्तिक्कै उहाँलाई यस गाउँको प्राकृतिक सौन्दर्यका साथै स्थानीयको आतिथ्यताले लोभ्यायो । ‘अत्यन्तै राम्रो लाग्यो गाउँ । प्रकृति र संस्कृतिले निकै धनी रहेछ भलामचौर । त्यहाँ पुग्दा खुसीको अनुभूति भयो’, उहाँले भन्नुभयो । समय मिले फेरि पनि भलामचौर पुग्ने चाहना छ उहाँको । 

कृषि, पर्यटनलाई सँगसँगै जोडेर भलामचौर अघि बढिरहेको पाउँदा झनै खुसी मिलेको उहाँले बताउनुभयो । ‘कृषि, पर्यटनलाई सँगसँगै लैजाने प्रयास भएको पायौँ । यो पक्ष निकै राम्रो लाग्यो’, उहाँले भन्नुभयो, ‘गाउँ पनि साह्रै राम्रो, रमाइलो लाग्यो ।’

एकचोटि यहाँसम्म पुगेका जोकोहीलाई गाउँको प्राकृतिक सौन्दर्यका साथै मौलिक संस्कृति र स्थानीयको न्यानो, मिठो माया, सद्भाव आतिथ्यताले तानिरहन्छ । डाकिरहन्छ । 

पर्यटनको विकासको उच्च सम्भावना

बाटोको स्तरोन्नति गर्न सकेमा यस गाउँमा थुप्रै स्वदेशी तथा विदेशी पर्यटक तान्न सकिने सम्भावना छ । प्रसिद्ध अन्नपूर्ण पदमार्ग र गुरुङ सम्पदा मार्गमा पर्ने भएकाले पनि यस गाउँको पर्यटन विकासको सम्भावना र भविष्य निकै राम्रो छ । 

बेसीसहरदेखि खुदीसम्मको बाटो स्तरोन्नति भइरहेको छ । खुदीदेखी भलामचौर र घलेगाउँसम्म पुग्ने बाटोको थप स्तरोन्नति गर्न सकेमा यस क्षेत्रमा कृषि र पर्यटन क्षेत्रको विकासबाट थुप्रैलाई घरगाउँमै स्वरोजगार बनाउन सकिने सम्भावना रहेको इन्जिनियरसमेत रहनुभएका गिरीले बताउनुभयो ।

‘सडक पूर्वाधारको विकास, स्तरोन्नति गर्न सकेमा उत्पादित कृषिको बजारीकरणमा पनि सघाउ पुग्छ । पर्यटकलाई आउजाउमा सहज हुन्छ । यसले पर्यटकको सङ्ख्या बढाउँछ । त्यो सम्भावना छ’, उहाँले थप्नुभयो ।

भलामचौरका ३० घरमा होमस्टे सञ्चालन गरिएको छ । यहाँ एक पटकमा ६० जना पर्यटक बस्न सक्ने क्षमता छ । एक रात बसेको, खाना–खाजा खाएको प्रति व्यक्तिले एक हजार दुई सय रुपैयाँ तिर्छन् ।

‘सिते बा ग्रुप अन्तर्गत एसजी हस्पिटालिटी नामक कम्पनीले कृषि तथा होमस्टे प्रवर्द्धनका लागि झन्डै चार करोड रुपैयाँमा भलामचौर मिर्चे नमुना कृषि पर्यटन परियोजना स१चालन भइरहेको छ । कम्पनीले स्थानीयसँग सम्झौता गरि होमस्टे व्यवस्थापन र कृषि उत्पादनका काम गरिरहेको छ । 

झन्डै ५० रोपनी जमिनमा ९० वटा टनेल निर्माण गरी तरकारी उत्पादन भइरहेको कम्पनीका प्रवद्र्धक नवीनराज कुइँकेलले जानकारी दिनुभयो । गाउँमा आउने पर्यटक लक्षित अर्गानिक तरकारीमात्रै नभइ धान कोदो, कुखुरासमेतको व्यावसायिक उत्पादन गरि गाउँमा आएका पाहुनालाई गाउँकै स्वादमा रमाउने गरि पर्यटन व्यवसाय सञ्चालन भइरहेको उहाँले बताउनुभयो । गाउँ आउने पाहुनालाई स्थानीयस्तरमै उत्पादन भएका खानेकुरा मात्रै खुवाउने गरिएको छ ।

गाउँमा शौचालय, स्नान कक्ष, शयन कक्षलगायत अत्याधुनिक संरचना पनि बनेका छन् । 

गाउँ आउने बित्तिकै पर्यटकलाई स्वागत, उनीहरूको इच्छाअनुसारको स्थानीय परिकार, गुरुङ संस्कृतिमा आधारित घाटु, सोरठी कृष्णचरित्र देखाएर गाउँलेले मनोरञ्जन प्रदान गर्छन् । बाइसे–चौबीसे राजाको पालामा रहेको गढी पनि गाउँ नजिकै छ । सुन्दरी तलाउ, मान्द्रे ढुङ्गा र तीन कन्यादेवी मन्दिर, पहराको कलादेवी, सिद्ध मन्दिर पनि पर्यटकीय गन्तव्य हुन् ।

पर्यटन प्रवर्द्धनमा पालिका र स्थानीय

पर्यटकीय सम्भावना बोकेको यस भलामचौरलाई मस्र्याङ्दी गाउँपालिकाले पर्यटकीय गन्तव्यको रूपमा पनि अगाडि सारेको छ । स्थानीय पनि गाउँमा होमस्टे सञ्चालन गरि पर्यटन पर्वद्धन र प्रचारप्रसारमा अग्रसर भएका छन् ।

जिल्ला सदरमुकाम बेसीसहर हुँदै खुदीको गोपालडाँडाबाट साँढे पाँच किलोमिटरको दुरीमा भलामचौर पुग्न सकिन्छ । गाउँसम्म पुग्न कच्ची भए पनि बाटोको सुविधा छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया