लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै

 पुस १, २०७९ शुक्रबार १४:२३:३१ | रासस
unn.prixa.net

दार्चुला – हिउँदे वर्षा नभएपछि दार्चुलामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । हिउँदे बाली लगाउने समयदेखिनै  परेको खडेरीका कारण लगाइएकोे बालीसमेत सुक्न थालेको छ ।

लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ । यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको मालिकार्जुन गाउँपालिका–३ का किसान कासीसिंह धामीले बताउनुभयो । 

आकासे पानीको भरमा खेती गरिने जिल्लाको अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो बाली सुक्न थालेको छ । जिल्लामा पाँच हजार नौ सय ६५ हेक्टर जमिनमा गहुँखेती गरिँदै आएकामा ३२ दशमलव सात प्रतिशत जमिनमा मात्रै मात्रै सिँचाइको सुविधा छ । सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेको उहाँको भनाइ थियोे ।

सिँचाइको सुविधा नभएको त्यस क्षेत्रमा हिउँदेबाली लगाएपछि पानी नपरेका कारण बाली सुक्न थालेको सोही ठाउँका अर्का किसान  अकबर सिंह खत्रीले  बताउनुभयो । जिल्लाको अन्य क्षेत्रमासमेत बाली सुक्न थालेको किसानहरुले बताएका छन् । कतिपय ठाउँमा सिँचाइको लागि पानी भए पनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ गर्न समस्या भएको छ ।

खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन् । वर्षे बालीमासमेत वन्यजन्तुले क्षति गरेका कारण खासै उत्पादन नभएको र हिउँदेबाली खडेरीले सुक्न थालेपछि चिन्तित भएका दार्चुलाका किसानले सिँचाइको लागि स्थानीय सरकाले उपयुक्त व्यवस्था गर्न नसकेको गुनासो गरे ।

गएकाे वर्ष दार्चुलामा १४ हजार एक सय तीन मेक्ट्रिकटन गहुँ उत्पादन भएकामा यो वर्ष भने समयमै पानी नपरेपछि गहुँ उत्पादनमा कमी आउने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया