रैथाने बन्दो राताकाँडे

 पुस २, २०७९ शनिबार १०:५६:१ | सुषमा रिसाल सापकोटा
unn.prixa.net

आआफ्ना धर्मै पिच्छेका विश्वब्रह्माण्डका सृष्टिकर्ता छन् : हिन्दुका ब्रह्मा, इस्लामका अल्लाहताला, इशाईको गड, यहूदीका अब्राहम, पारसीका जराथुस्त । सबैका सृष्टिकर्ताले नर र नारी, आदम र इभ, एडम र इभ, आदम र हब्बा सृष्टि गरेका छन् । तिनलाई ‘यो फल नखाओ है’ भनेर फल खान वर्जित पनि गरेका छन्, तिनले नटेरेर त्यो वर्जित फल खाएका पनि छन् । 

कुरो बिग्रन थालेकै यहीँबाट हो । आफ्नै सृष्टिकर्तालाई समेत नटेरेर फल खाएपछि ब्रह्माजी, अल्लाहताला, अब्राहम, गड, जराथुस्त झस्किएनन् होला त ?  

पर्तिर के भयो कुन्नी, ब्रह्माजी बिचरा भने साह्रै नराम्ररी झस्के ! यसै पनि उनी आफूले चाहे जस्तो सृष्टि नभएकोमा खिन्न थिए । उनले सोचे, ‘नमिलेको समेत मिलाएर विश्वब्रह्माण्डलाई राम्रो बनाउला भनेर सबैलाई भन्दा बढी बुद्धि र वाणीसमेत दिएर मानवको सृष्टि गरेँ तर यिनले त मलाई नै चुनौती दिन थाले बा । यही पाराले त यिनले मेरो सृष्टि थाम्ने हैन, ध्वस्त पार्छन् । यिनलाई तह लगाउन के उपाय गर्ने होला ? यिनका कुटिल आँखाले देखिने तत्व बनाऊँ मिलेसम्म खाएरै सक्छन्, हैन भने त्यसैबाट मनोरञ्जन लिन्छन्, नभए तह लगाएरै छाड्छन् । त्यसैले साह्रै सूक्ष्म तत्व बनाइदिनुपर्यो, देख्न पनि सक्दैनन्, भित्रभित्रै त्यसले तिनलाई तह लगाउँछ । आफू देखिन पनि परेन, काम पनि बनिहाल्छ ।  

यस्तो सोच्दै ब्रह्माजी आफ्नो प्रयोगशालामा गएर आविष्कारमा जुटे । पातलो झिल्लीले ढाकेको ० दशमलव २ माइक्रोनदेखि ठूलोमा १० माइक्रोमिटरसम्मको जम्माजम्मी एक कोष भएको आँखाले देख्न नसकिने गोला, डल्ला, लाम्चा, छडजस्ता, सर्पजस्ता अतिसूक्ष्म जीवाणु(ब्याक्टेरिया)को सृष्टि गरे । वंश वृद्धिका लागि यिनमा लैङ्गिक तथा विभाजन दुवै तरिकाको प्रजनन प्रणाली राखिदिए फलस्वरूप हावा, पानी, माटो, प्राणी, वनस्पति, वातावरणमा लाखौँको संख्यामा उपस्थिति होऊन्, सर्वव्यापी बनून् । बाँच्न सजिलो होस् भनेर आफैँ पोषणको व्यवस्था गर्न सक्ने स्वयंपोषी, अरूलाई चुसेर बाँच्न सक्ने परजीवी, मृतकबाट पोषण प्राप्त गर्न सक्ने मृतजीवी, आफैँजस्तोबाट पोषण प्राप्त गर्न सक्ने सहजीवीसमेत बनाइदिए ।   

अब ब्रह्माजी आफूले तह लगाउन नसकेको मानव जातिलाई यी सूक्ष्म जीवाणुले पक्कै तह लगाउँछन् भन्नेमा ढुक्क भए । तर जीवाणुले पनि ब्रह्माजीलाई धोका दिए । गल्ती उनैको थियो, दैत्य, दानव, असुर बनाउँछु भन्दा भन्दै पनि उनले यिनमा खराबी, दुष्ट्याइँ, कपटको मात्रा धेरै भर्न बिर्सेर देवताजस्तै पो बनाएछन् । परेन बित्यास । देवता पनि कहिलेकहीँ गल्ती गर्छन् नि उस्तै कहिलेकहीँ आफ्ना आश्रयदातासँग रिस उठ्यो भने थोरै उपद्रो गरेर रोग लगाइदिने नत्र जसबाट पोषण प्राप्त गर्यो तिनैलाई धोका दिनु बेठीक हो भन्दै नुनको सोझो गरेर उनैको सुरक्षा गर्ने पो भैदियो । तेलपानी एकै पिना बेग्लै भनेझैँ प्राणी र जीवाणु मिलेर ब्रह्माजीको माछोमाछोलाई भ्यागुतो देखाइदिए । 

अब भएन बा ! एकदम खराब सृष्टि गनुपर्यो भनेर ब्रह्माजीले एउटा कोषसमेत नराखि प्रोटिनमात्रको अति सानो तत्व विषाणु (भाइरस) बनाएर विष, खराबी, दुष्ट्याइँ टन्न भरिदिए । सृष्टिको विनाश हुन्छ, जन्मेपछि मर्नुपर्छ भन्ने आफ्नै नियम लत्याएर उनले विषाणुलाई अजम्बरीको बरदान दिए । आफ्नै सृष्टिधर्म भङ्ग गरेको लाञ्छना नलागोस् भनेर चलाखी गरी तिनलाई इच्छाधारी : मुर्दातुल्य लाखौँ वर्ष सुसुप्तावस्थामा रहन पनि सक्ने, एउटै मात्र जीवित कोष भेटे भने बिउँतेर आफैँजस्ता लाखौँ फोटोकपी निकाली त्यो कोषधारीमाथि नै कब्जा जमाउन पनि सक्ने, जिउँदो पनि, मुर्दा पनि, न ओखतीले छुने, न घनले फोर्न सकिने, न तातोपानीले खुइल्याउने, न ठण्डाले जम्ने, न खुकुरीले छप्काउन मिल्ने, न गोली ठोकेर मर्ने  बनाइदिए । नियमभङ्गमाथि प्रश्न उठिहालेछ भने, ‘यो कहाँ जीवित हो र ?’ भन्दे भैगो किनभने जीवित भन्नका लागि आवश्यक गुण प्रजनन क्षमता विषाणुमा छैन तर मृत भनौँ भने त्यसले मजाले वंशवृद्धि गर्छ । नरसिंह अवतारजस्तो क्या, नर भन्न पनि मिल्ने, पशु भन्न पनि मिल्ने । धेरै नै खराब बनाउने धुनमा ब्रह्माजीबाट अवसरवादी विषाणु सृष्टि भएछ । तर, ब्रह्माजी भने ढुक्क थिए : खुकुरीभन्दा कर्द लाग्ने, बाबुभन्दा छोरो जान्ने भएर बड मलाई नै नटेर्ने भएका थियौ हैन ? अब हेरौँला तिम्रा ताइँ !   

तर मान्छे न हो, बह्माले टन्न बुद्धि दिएर बनाएका । किन चुप लागेर बस्दो हो ? उसले त्यो के तत्वले कसरी बनेको रहेछ ? पत्तो लगायो अनि यसबाट के फाइदा लिन सकिन्छ भनेर घोत्लिन थाल्यो । 

यसै घोत्याइँमा कपाल फुलाएका थिए प्राध्यापक डाक्टर चानचुनले । विश्वमा भएका राम्रा, नराम्रा, हितकारी, अहितकारी, असल, खराब, जीवाणु, विषाणु, जीवात्मा, विषात्मा, दुरात्मा, प्रेतात्माको अनुसन्धान गर्दागर्दै अन्त्यमा विषाणुको अनुसन्धान अर्थात, यो कसरी बनेको रहेछ ? बाबुबाजे को रहेछन् ? मातुल नाता कोसँग पर्दो रहेछ ? गोत्रप्रवर कोसँग मिल्दो रहेछ ? भन्ने वंशावली तयार गरीवरी यसले के के हानी, के के फाइदा गर्न सक्दो रहेछ भन्ने कुण्डली तयार गर्दै थिए । 

त्यो दिन उनी कसै गरी पनि एउटा विषाणुको कुण्डली तयार पारेरै छाड्ने अठोटका साथ प्रयोगशाला प्रवेश गरेका थिए । यसले उनको धेरै समय लिइसकेको थियो ? तर के गरून् ? खेत भए दुईचार लाठे लगाएर बङ्का बङ खनेर कि ट्याक्टर गट्गटाएर सक्दाहुन्, बाटो बनाउने भए दर्जनभर भ्याकू लगाएर सक्दाहुन्, तर यो साह्रै मसिनो काम, खेताला लगाउन पनि नमिल्ने, अरूको विश्वास गर्न पनि नसकिने खालको थियो । साना सल्याङ्बल्याङ् गर्ने विषाणुको कुण्डली तयार गर्नु सजिलो काम पनि त होइन नि । 

उनको प्रयोगशालामा आँखाले नदेखिने किसिम किसिमका तत्व, उदूमा ‘जिन्न’ भनिन्छ नि, लाई सिसीमा बन्द गरेर राखिएको थियो । प्रा.डा.चानचुन सबै जिन्नलाई चिन्थे, कसलाई के गर्ने, के नगर्ने ? कसलाई थुन्ने, कसलाई छाड्ने ? जान्दथे । यस्तो अध्ययन उनले मात्र होइन, दुनियाँभर उनका सगोत्रीहरूले पनि गरिरहेका थिए । कहिले, को, केमा सफल हुन्छ ? भन्न सकिन्नथ्यो । कसैलाई एउटै काम गर्न वर्षौँ लाग्न सक्थ्यो, कसैले छिटै सफलता पाउँथे । तर पनि यी एकोहोरा मनुवाहरू यसैमा लागिपरेका थिए । 

अतः प्रा.डा.चानचुनले प्रयोगशालामा पसेर एउटा सिसीबाट राताराता काँडाजस्ता घोचा भएका एकजोडी जिन्नलाई ‘बाहिर आओ’ भने, तिनीहरू सिसीबाहिर निस्के । जिन्न आज्ञाकारी हुन्छन्, ‘बस्’ भने बस्छन्, ‘बाहिर आइज’ भने आउँछन्, जसो ‘गर्’ भन्यो त्यसै गर्छन् । उनले त्यसमा थोपाथोपी हाले, पढे, हेरे अनि ‘भित्र पस्’ भने तर तिनलाई के भयो कुन्नी ? भित्र पसेनन् । प्रा.डा.चानचुन हतपत्ती रिसाउँदैनथे, आज आज्ञाको अवज्ञा भएकोमा उनी जङ्गिएर, ‘ए राताकाँडे, बौलायौ कि क्या हो ? किन टेर्दैनौ ?’ भन्दै डाँकोले खाए । डरले थरथर भएका तिनलाई उनले आँखा तरेर के हेरेथे ती एकाएक अलप भैदिए । 

डा.चानचुन आत्तिए, कता गए ती ? खोज्न थाले तर सूक्ष्मदर्शक यन्त्रबाट मात्र देखिने ती यत्तिकै के भेटिन्थे र ? वास्तवमा राताकाँडेको त्यो जोडी प्रा.डा.चानचुनको रौद्र रूपसँग डराएर उनको नाकको रौँमा लुकेर बसेका थिए । गर्न खोजेको भन्दा उल्टो काम भयो भनेर दिक्क भएका डाक्टर प्रयोगशालाबाट बाहिर निस्के र लखरलखर बाटो नाप्न लागे । यता नाकमा बसेका राताकाँडे एकअर्कासँग चल्न, कुटाकुट् गर्न थाले । यसो गर्दा डाक्टरको नाक खिर्यायो । उनले टोलै थर्कने गरी हाच्छ्यु गरे । त्यसो गर्दा एउटा राताकाँडे उनको घाँटीभित्र पस्यो अर्को चैँ उछिट्टिएर काँडा फैलाउँदै हावामा तैरन थाल्यो । 

व्यापार गर्न ढिलो भएको कारण हतार हतार हिँडिरहेकी मासुपसल्नी अण्टीले प्रा.डा.चानचुनको भयानक हाच्छ्युँ सुनेर त्यता फर्केर हेरिन् । यही मौकामा हावामा तैरिरहेको राताकाँडे अण्टीको नाकमा प्रवेश गर्यो र छिटोछिटो हिँडिरहेको कारण फुलेको सासले नै त्यसलाई घाँटीबाट झारेर फोक्सोमा पुर्याइदियो । 

डा.चानचुनको कडा अनुशासनमा बस्न बाध्य भएको कारणमात्र जिन्नजस्तो आज्ञाकारी भएको अन्यथा ब्रह्माले खराबै खराबी भरेर बनाएको अवसरवादी विषाणु मासुपसल्नी अण्टीको फोक्सोमा चकचक गर्न थाल्यो । त्यसो गर्दा स्पाइक प्रोटिन नामक राताराता काँडाजस्ता त्यसका घोचाले फोक्सोको कोषिकामा यत्रतत्र छुन पुगे । आम्मै, के हो यस्तो ? काँडा त साँचो पो रहेछ त, फोक्सोको कोषमा भएको प्रोटिनरूपी ताल्चाको । साँचो मिल्यो, ताल्चा खुल्यो । घरबेटी रिसेप्टर प्रोटिनले पाहुना लाग्न आएको स्पाइक प्रोटिनलाई स्वागतै गरेर भित्र्याएपछि राताकाँडेले सोभैm फोक्सोको भण्डारमा प्रवेश पायो । 

हुर्रे । भन्दै सबैभन्दा पहिले राताकाँडेले महामृत्युञ्जय मन्त्र जपेर आफूलाई ब्युँतायो । अनि ‘हे मनुवा ! आजसम्म म तिम्रा खटनमा थिएँ, अब मेरो पालो’ भन्दै गुण्डाले टोल कब्जा गरेझै कोषिकालाई नियन्त्रणमा लिएर पहिले आफ्नो आरएनए बाहिर निकाल्यो त्यसको युद्धस्तरमा फोटोकपी निकाल्दै र आश्रय पाएको सेलको डिएनएलाई कामै गर्न नसक्ने पङ्गु बनाइदियो । एकै छिनमा लाखौँको सङ्ख्यामा बनेका राताकाँडे ‘ता थै, तिक थैमा’को तालमा ताण्डव नृत्य गर्न थाले । बिचरी मासुपसल्नी अण्टी हाच्छ्युका हाच्छ्यु गर्न थालिन् । त्यही मेसोमा उनीभित्र बनेका लाखौँ राताकाँडे बाहिर निस्किए र मुर्दातुल्य हुनुपर्ने डरले हतारहतार आश्रयदाता खोज्न थाले । नयाँ वर्षको पर्व भएकोेले मासु बजारमा भीड थियो, त्यसैले राताकाँडेले फटाफट मान्छे भेट्टाइहाले र एकएकको नाकबाट घुसेर घाँटीबाट तल ओर्लेर राता काँडाको साँचोले ताल्चा खोल्दै फोक्सो नामक भण्डारमा आफ्नो राज्य चलाउने उपक्रममा लागे ।  

मासुपसल्नी अण्टीलाई हनहनी ज्वरो आयो र अस्पताल गइन् । डाक्टरले जाँचेर उनलाई मौसमी रुघाखोकी,  भाइरल हो, तातो पानी पिउनू, आराम गर्नू भनेर पठाइदिए । अर्को दिन तिनीसँग मासु किनेर लैजाने सबै ज्वरो, खोकी, छातिघाँटी दुख्ने र स्वादगन्ध हराउने जस्ता लक्षण लिएर अस्पताल पुगे । यस्तो लक्षणको रुघाखोकी वर्षेनी लाग्थ्यो र आफैँ हराएर जान्थ्यो त्यसैले यसलाई गम्भीरताका लिइएन, रुघाखोकीको भन्दै पठाइयो । जब यस्ता लक्षण भएका बिरामी ह्वात्तै बढ्न थाले र फट्टफुट्ट मान्छे पनि मर्न थाले अनि सबैको ध्यान यतातिर तानियो । राताकाँडे भाइरस उसका काकामामाका छर्छरीजस्ता रुघाखोकीमात्र लागेर छाड्ने खालको नभएर रातभरमा मान्छेको फोक्सो नै सखाप पार्ने खालको रहेछ । सास फेर्न गाह्रो भएर ‘भोलि त अस्पताल जानुपर्छ बा’ भन्ठान्दा भन्ठान्दै राताकाँडेले रातभरमा फोक्सो कामै नगर्ने बनाउँदो रहेछ । परिणामः अघिल्लो दिन ठमठमी हिँडिरहेको मान्छे भोलिपल्ट सोत्राम । 

के भयो यस्तो ? डाक्टरहरू अत्तालिँदै राताकाँडेको कुण्डली, जोखन हेर्न थाले । प्रा.डा.चानचुनसम्म जब यो हल्ला आइपुग्यो, उनी झस्के । आम्मै ! यो त उनको प्रयोगशालाबाट गायब भएको राताकाँडे हो ! त्यसैको सङ्गतमा कपाल फुलाएका उनी ‘त्यसलाई मैले जति कसैले चिन्दैन’ भन्ने गर्व पाल्थे । हो पनि, त्यसको चिनाटिप्पन, गोत्रप्रवरसम्म जानेर त्यसको दोहोलो काट्ने मन्त्रको आविष्कारमा थिए उनी । त्यसैले अरूले बनाएको कुण्डली उनलाई चित्त बुझेन । भय, त्रास, निराशा तथा हताशाको अवस्थामा पुगेर अत्तालिँदै ‘राताकाँडेले सक्ने भयो, बर्बाद पार्यो, सखाप भयो’ भन्दै प्रलाप गर्न थाले । उनको यो बर्बराहट कतिले बुझे, कतिले बुझेनन्, कतिले माने, कतिले मानेनन् ? कतिले चाहिने भन्दा धेरै बुझे र ती उनीभन्दा अत्तालिए । तिनलाई घाँटी दुखे जस्तो, ख्याप्प भए जस्तो, नाक खिर्याए जस्तो, शरीर रन्न तातेजस्तो लाग्न थाल्यो । मरिन्छ कि क्या हो भन्दै अस्पतालतिर दौडे ।  अस्पतालमा थेगिनसक्नु भीड लाग्यो । मान्छेको भीड ! राताकाँडेलाई के चाहियो ? त्यसले झन् बिगबिगी मच्चाउने मौका पायो । 

राताकाँडेको कुण्डली बनाउँदै गरेका सगोत्रीले बल्ल प्रा.डा.चानचुनको बर्बराहटको अर्थ बुझे । वास्तवमा उनको जुन कुरा सगोत्रीले जान्नुपथ्र्यो त्यो बिना सम्पादन सर्वसाधारणमाझ पुग्यो । परिणाम उल्टो : अनुसन्धान गर्ने अल्मलिए, जान्न नपर्नेले धेरै जाने र आतङ्कित भए । त्यसैले प्रा.डा.चानचुनलाई नियन्त्रणमा लिएर सगोत्रीहरू उनको कुरो सुन्न, उनीसँग गहन छलफल गर्न थाल्दै मात्र थिए, राताकाँडेले उनकै फोक्सो स्वाहा पारिसकेछ । प्रा.डा.चानचुनको जीवनलीला समाप्त भयो । 

पहिले प्रा.डा.चानचुनको कुरामा ध्यान नदिएको, तर उनले भने जस्तै गरी मान्छे सोत्तर हुन थालेको देखेर  विश्व स्वास्थ्य सङ्गठनका महासचिव टेड्रोस अधानोम गेबे्रयसस उर्फ गोब्रे काकाको कान ठाडो भयो । उनी फौजै लिएर त्यता हान्निए । त्यहाँको अवस्था बुझेर तोतेतोते बोलीमा काकाले भने : प्रा.डा.चानचुनले राताकाँडेलाई चिनेका रहेछन् । अहिलेसम्म त्यो चण्डालले यहाँ लगभग चारहजारलाई खाइसकेछ । अझ डरलाग्दो कुरो यहाँबाट ८० जनाको फोक्सो चढेर विश्वभ्रमणमा निस्की पनि सकेछ । तर आत्तिहाल्नु पर्दैन, ती ८० जनालाई चिनेर तिनलाई गोडा दसेक दिन गुफा पसाउने र तिनसँग भेटाघाट, सम्पर्क गरेकाले केही दिन गुफा पस्ने हो भने र सबैले मुखमा पेरुङ्गो कसेर हिँड्ने हो भने, बेलाबेलामा हात धुने वा स्यानिटाइजर नामको जङ्गाजल छर्कँदै गर्ने हो भने केही दिनमै राताकाँडेको दोहोलो काटिन्छ ।   

संयोगले संसारमा त्यो बेला तीनथान धुन्धकारीले मुख्तियारी चलाइरहेको बेला थियो । पाताल देशको धुन्धकारी गोरेले जसै चानचुनको देशमा राताकाँडेले उपद्रो मच्चाएर मान्छे भक्राम भएको खबर सुने, उनलाई पाथीभात खाएसरह भयो । चानचुनको देशलाई राताकाँडेले सिध्याउने भयो, कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडाउने भयो भनेर दङ्ग परे । त्यसलाई आफूसम्म आउनबाट रोक्न आवश्यक कदम चाल्नुपर्ने समय ‘खुच्चिङ ताला पैताला, दुई पैसाको सुन्तला’को भाकामा काखी बजाउँदै नाचेरै बिताए । 

यतिञ्जेलसम्म राताकाँडे पाताललोक पुगेर उपद्रो मच्चाउन थालिसकेको थियो । गोब्रे काकाले चानचुनको देशले राताकाँडेको दोहोलो काट्न लगभग सफलता पाइसकेकोले तिनले त्यहाँ जे जे उपाय अपनाएका  थिए अरूले पनि त्यसै गरे राम्रो हुन्छ के भनेका थिए धुन्धकारी गोरे बुर्लक्क तीन हात उफ्रेर धारेहात लगाउँदै चानचुनका मुखियालाई सत्तोसराप गर्न थाले, ‘यो राताकाँडे आफैँ बनेको हुँदै होइन, हाम्लाई सखाप पार्न भनेर यसलाई बनाएर यता पठाएको हो । हामी राताकाँडे साताकाँडेसँग डराउने हैनम्, हामीलाई त्यसका काँडा त के बाह्र हातको टाँगाले पनि छुन सक्दैन । राताकाँडेले पाखेपिखे एसियनलाई छुन्छ, संसारका सर्वश्रेष्ठ मनुवा हामीलाई देख्दै त्यो काँडासाँडा दुम्काएर कुलेलम ठोक्छ । हामी मुख थुनेर हिँड्न, घरमा बन्द भएर बस्न जन्मेकै होइनौँ । मजाले हिँडिन्छ, डुलिन्छ । चानचुको बोलीमा लोली मिलाउने तिमी गोब्रेलाई पख न’ भनेर खर्चबर्च, हुक्कापानी नै रोक्का गरिदिए । 
 
चानचुनको देश पहिले त धुन्धकारी गोरेसँग मुख लाग्नुभन्दा राताकाँडेको दोहोला काट्नतिरै लाग्यो । उसका पाँच हजार मान्छे बलि चढिसकेका थिए । सबै निचोरेको कागतीजस्तो मुख लिएर दौडधूप गर्दै  थिए । विश्वकर्मा बाबाले पनि गर्न सक्थे सक्दैनथे, रातारात अस्पताल खडा गरे, उपचार गरे, निको पारेर पठाए । कोही बाहिर निस्कन नपाउने, घरैमा समाधि लगाएर बस्नुपर्ने, निस्कनै पर्नेको सात ठाउँमा ज्वरो नपाउने व्यवस्था गरे । चानचुनको देशमा नियमकानून निकै कडा थियो । नियम नमान्नेलाई भाटे कारबाही हुन्छ भन्ने सबैलाई थाहा थियो । यस्तो बानी परेका तिनले घरबाहिर निस्कनु त के आँखीझ्यालबाट चिहाउनेसम्म आँट गरेनन् । बिस्तारै राताकाँडे निस्तेज हुन थाल्यो ।

अलि सम्हालिए पछि चानचुनका मुखियाले खुइय सुस्केरा हाले । सोझा, शान्त र नम्र देखिने उनको  अनुहार कठोर बन्यो, आँखा राता भए, शरीर थर्रथर्र काँप्यो । कम्मरमा हात लगाएर पश्चिमतिर फर्केर चर्चरी बाझ्न थाले, ‘हे धुन्धकारी गोरे ! जे मुखमा आयो त्यही बोल्ने ? हामीले विष बनाएका थियौँ भने पहिले आफैँ चाखेर हेथ्र्याैँ कि जसरी नि पहिले तिम्रै मुखाँ पर्ने चाँजो मिलाउथ्यौँ हँ ? हामी पनि तिमीसरह हुन लाग्यौँ भनेर डाहाले तिमीले नै बनाएर यता पठाएका होलाऊ बरु । खान नपाएका मान्छेको तिमीलाई मतलब छैन, झगडा पर्ने छाँट देख्यौ कि थाम्पुरो लगाउन छाडेर हतियार पुर्याउन कुदिहाल्छौँ । हुँदै नहुने लडाइँसमेत उब्जाउन खप्पिस त तिमी नै छौँ नि । तिम्रा दिमागाँ मान्छे मार्ने भन्दा अर्थोक आउँदैन कि क्या हो ? तिम्ले जानेकै यत्ति हो ?   

धुन्धकारी गोरेले मुख्तियारी सम्हालेदेखि नै चानचुनको देश र उनीबीच व्यापारस्यापारको कुराले पाखुरा सुर्कासुर्की चलेको थियो । उनले चानचुनलाई र चानचुनले उनलाई खुइल्याउने कुनै मौका छाड्दैनथे । राताकाँडेको निहुँमा उनी चानचुनसँग पानी बाराबार गर्न सक्थे । उडान बन्द गर्न सक्थे । उताबाट कोही पाताल प्रवेश गर्न नसक्ने व्यवस्था गर्न सक्थे तर पहिल्यैदेखि गर्नुपर्ने नगरेर, नगर्नुपर्ने गरिरहेका उनले झन् उल्टोउल्टो निर्णय गर्दै, ‘कोही मुख थुनेर नहिँड्नू, कोही घरमा थुनिएर नबस्नू भनिदिए फलस्वरूप एक दिनमा आठ लाखसम्म पातालवासीलाई राताकाँडेले दपेट्न भ्यायो । त्यही अनुपातमा मान्छे मरे । 

अन्तिम संस्कारको समेत व्यवस्था गर्न नसकेर एक्स्काभेटरले खन्दै ह्वारार्र लास खन्याउँदै पुर्दै गर्नुपर्ने अवस्थामा पुग्दा पनि धुन्धकारी गोरेले किञ्चित खाएनन्, उही पारा, उही ठस्सा कायम राखे । अघिल्ला मुखियाले कस्ताको हातमा परेछ मेरो देश भन्दै पुर्पुरोमा हात राखे । बजिर, गुलामसमेत उनको कुरा नटेरेर गोबे्र काकाको कुरा मान्न थाले । तर, अँ हँ धुन्धकारी गोरे टसबाट मस भएनन् बरु ‘मलेरियाको औषधि खाओ, भाइरस ठीक हुन्छ,’ भनेर उनले बताएको उपचार विधिमाथि दुनियाँ मरिमरी हाँसे, तर उनलाई छोएन । परिणाम १० करोडको हाराहारीमा पातालवासी राताकाँडेबाट पीडित र १० लाखको हाराहारीमा स्वाहा भए । संमृद्ध, धनी, विकसित, विश्वको शक्ति मानिएको धुन्धकारीको देशमा सङ्कटको समयमा जे जस्तो भयो त्यसले यी कति पाइनमा रहेछन् भन्ने पनि देखायो है । 

उनैका जुम्ल्याहा भाइजस्ता देखिने धुन्धकारी सेते बेलायत देशको मुख्तियारी सम्हालिरहेका थिए । यी धुन्धुकारी गोरेभन्दा निकै फरक लाग्थे, तर कसो कसो पुस्तैनी गुण त आइहाल्दो रहेछ । भलै उनले जनतालाई गोब्रे काकाको कुरा मान्न लगाए, तर आफूले मानेनन्, म्याच हेर्न गए । स्वाभाविक हो, राताकाँडेले फेला पार्यो । अझै नचेतेर घरैमा पार्टी गर्दा भएका कुन चाँही उपद्रयाहाले फोटो खिचिदिएछ, स्पष्टीकरण दिँदा दिँदा हार खाएका उनी यही निहुँले छँदाखाँदाको मुख्तियारी गुमाउनेमा परे । 

हाम्रा छिमेकमा मुख्तियारी चलाउँदै थिए धुन्धकारी ऋषिले । रामराज्य चलाउने एकसूत्रीय लक्ष्यसहित सत्तारुढ भएका उनी पहिले त ‘राताकाँडेलाई रामले ठीक पारिहाल्छन् नि’ भन्दै थिए तर पछि भने गोब्रे काकाको कुरा मानिदिए र ‘जो जहाँ छ त्यहीँ बस्नू, हलचल नगर्नू’ भन्ने फर्मान जारी गर्दै गुड्ने, उड्ने, घिस्रने सबै बन्द गरिदिए । के खाने ? कहाँ बस्ने ? उत्तरको खोजमा पाँच रुपैयाँ पुरियाको ‘पारले जी’ बिस्कुटको भरमा लालाबाला बोकेर कन्याकुमारीदेखि कश्मिरसम्म ३५ सय किलोमिटरको यात्रा हिँडेरै पार गरिहेकाको लर्कोले उनको देशले कति फलाङ् मारिसकेको रहेछ छर्लङ पारिदियो । न उपचारको राम्रो व्यवस्था, न पर्याप्त अस्पताल, मनिसको असली स्वरूप दुःखको समयमा पत्ता लाग्छ भन्थे हो रहेछ ।  

त्यही बेला ‘जमात ए इस्लामी’ नामक अन्तर्राष्ट्रिय संस्थाले नयाँ दिल्लीमा सम्मेलन राखेको थियो । देशभित्र सबै बन्द भए पनि अन्तर्राष्ट्रिय उडान चालु थियो त्यसैले राताकाँडे फैलिसकेको देशबाट समेत निर्बाध सहभागीलाई आउन दिइयो, सम्मेलन गर्न दिइयो । स्वाभाविक हो, तिनको सम्पर्कमा आएकालाई राताकाँडेले भेट्यो । सम्मेलन सकिनु र अन्तर्राष्ट्रिय उडान बन्द हुनु सँगसगै भयो, तसर्थ ती फर्कन पाएनन् । अनि त के थियो ? गोदी मिडियाले तिनलाई खलनायक बनायो । ‘आफैँ राताकाँडेबाट कसरी जोगिने ?’ भन्ने चिन्तामा रहेको उनको शत्रु राज्यले जमातीलाई केरोना भाइरस बोकाएर स्वयंसेवी  बनाएर रोग सार्न पठाएको आरोपसम्म लागायो तर आफैँले आउन दिएको, जान रोकेकोले यसो भएको हो भन्ने सत्यलाई ढाकछोप गर्यो । 

अरू देशमा राज्य ठीकसँग नचल्दा सरकारलाई जिम्मेवार ठहर्याइन्छ, गोदी मिडियाले प्रतिपक्षलाई ठहर्याउँछ । राताकाँडेको मामलामा त प्रतिपक्षीलाई समेत हेरेन, सोझै जमातीलाई देखादियो । धेरै पल्ट भन्यो भने असत्य पनि सत्य मानिनँ थाल्छ भनेझैँ धेरैले त्यो कुरा पत्याए । जमातीलाई ज्यान जोगाउन गाह्रो भयो, जहाँ पाए त्यहीँ लुकेर बसे । राताकाँडेले झन् फैलियो र तिनीहरूलाई अपराधी नै ठानियो । यो विषयमा महाराष्ट्र उच्च अदालतमा परेको मुद्दामा पछि ‘जमात ए इस्लामी निर्दोष रहेको, उनीहरूमाथि अमानवीय व्यवहार भएको’ फैसला आयो र तिनले न्याय पाए । धुन्धकारी ऋषिले लकडाउनको बेला बनारसमा २५ सय मान्छे जम्मा गरेर राताकाँडे स्वाहा गर्ने होम लगाएको कुरा, कुम्भ मेला र चुनावी र्यालीको कारण दिनमा चार लाखसम्म सङ्क्रमित, चार/पाँच हजारसम्म मरेको कुरा त्यति प्रचार गरिएन जति जमाती लुकेको विषयलाई गरियो । धर्मनिरपेक्ष नामको त्यो देशमा अहिले हिन्दुइत्तर धर्मावलम्बीमाथि जस्तो व्यवहार भैरहेको छ नि त्यसबाट धर्मनिरपेक्ष शब्दको परिभाषा नै बदल्नुपर्ने देखिन्छ । 

हाम्रोमा त्यो बेला अनुहार पनि बानीबेहोरा पनि धुन्धकारी ऋषिका जुम्ल्याहाजस्तै लाग्ने दाइ हो कि भाइ हो ले राज्य चलाइरहेका थिए । हाम्रा मुखिया बाको त ना कुरा गर्नु नै अच्छा हुन्छ तर सबैको कुरा गरेर आफ्नैको नगर्नु कसरी ठीक ठहर्ला र ? गुगलले ‘फेँकू’ भन्दा धुन्धकारी ऋषिलाई देखाउँछ, तित्राको मुखै बैरी भनेजस्ता बोल्यो कि पोल्यो, आगो उकेल्यो मार्काका हाम्रा ती मुखियालाई ‘चोथाले’ भनेर गुगलले देखाइदिए उनको पनि ख्याति बढ्दो हो ? उनले जति जानेका छन् नि त्यति त विषय नै संसारमा छैन त्यसैले सर्वविषय ज्ञातामात्रै भन्दा उनको अपमान हुन्छ । हुँदै नभएको विषयका पनि विशेषज्ञ उनीले जाबो राताकाँडेको विषयमा नजान्ने त प्रश्नै उठ्दैनथ्यो । संयोग पनि कस्तो भने शल्यक्रिया गरेर उनलाई आराम चाहिएको बेला थियो त्यसैले सबै थप्प पारेर अरूलाई पनि लामो आरामको व्यवस्था गरिदिए । अनि यसो हप्तादश दिनमा दौरासुरुवाल, कोटटोपी लगाएर टेलिभिजनमा देखा पर्यो, आफूले पत्ता लगाएका नयाँ नयाँ फर्मुला सुनायो अनि फेरि लामो समाधिमा गयो गरेर मुख्तियारी चलाए । 

उनी र धुन्धकारी गोरेबीच कुनै नातासाइनो पर्दैन, तर स्वभावले पनि एउटा नाता बनाउँदो रहेछ । उता उनले ‘यसले हामीलाई केही गर्दैन’ भन्नु यता यिनले ‘हामी गोर्खालीलाई भाइरससाइरसले केहीले लछार्दैन, हाच्छिउँ साच्छिउँ गर्यो भैहाल्छ नि’ भन्नुबीच नातासम्बन्ध के होला ? स्वभावको ? अर्को हप्ता मुखियाबा नयाँ फर्मुलासहित प्रकट हुन्थे, ‘तातोपानी पिउनू्, पोलेरै मरिहाल्छ नि त्यो ।’ धुन्धकारी गोरेले मलेरियाको औषधि सिफारिस गर्नु र राताकाँडे मार्न अम्बाको पात पकाएर पिउने फर्मुला आउनु संयोगमात्र थियो कि स्वभावगत साइनोले जुराएको संयोग थियो ? एकतिर यस्तो प्रहसन चल्दै थियो, अस्पतालका बेड बिरामीले भरिएर चौरमा त्रिपाल टाँगेर उपचार पनि चल्दै थियो, सङ्कटापन्न अवस्थामा उनका नन्दीभृङ्गीले भ्रष्टाचारका पुराना रेकर्ड तोड्ने होडबाजी पनि चल्दै थियो, ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’ भन्दै तिनलाई जोगाउँदै गर्ने उनको रेकडतोड सिलसिला पनि चल्दै थियो ।  

वास्तवमा समस्या गम्भीर थियो, तर यसलाई सल्ट्याउन सकिन्थ्यो । जस्तो देशलाई पनि नेतृत्वले लिने निर्णयले गहिरो प्रभाव पार्छ । धुन्धकारीहरूले समयमै कठोर निर्णय लिइदिएको भए आधिकारिक अभिलेखमा आएका ८ करोड मानिस सङ्क्रमित र लगभग ७० लाख मानिसको मृत्यु हुने थिएन । समस्या कहिले कहाँबाट आउँछ, भन्न सकिन्न । यस्ता समस्या पहिले पनि नआएका होइनन् । समस्या आउँदा केही समय त्यसको गम्भीरताको अनुमान नहुनु अस्वाभाविक होइन तर त्यसको गम्भीरता बुझिसकेपछि सतर्कता नअपनाउनु भयङ्कर गल्ती हो । गोब्रे काकाले सचेत बनाएको बेलामै सतर्कता अपनाइदिएको भए राताकाँडाले आतङ्क मच्चाउन सक्दैनथ्यो । अफ्रिकामा नयाँ भेरियन्ट देखिँदा तुरुन्त त्यहाँको हवाइ उडान बन्द गर्ने राष्ट्रहरूले बुहानमा भाइरस फैलिएको देख्दा देख्दै किन उडान रोकेनन् ? एकदुई महिना त्यहाँबाट आउने बाटै बन्द गरिदिएको भए जति भोग्थे, तिनैले भोग्थे, शायद समस्या विश्वव्यापी बन्दैनथ्यो । जुन देशले त्यसो गरे त्यहाँ जीउज्यानको उति नोक्सान हुन पाएन पनि । 

धन्न राताकाँडेविरुद्ध छिटै भ्याक्सिन तयार भएर व्यापक मात्रामा प्रयोग पनि भयो । तर अझै पनि यो पूर्णतः नियन्त्रणमा आएको छैन भन्नुको अर्थ कतै राताकाँडे वैश्विक रैथाने त भएन ? यसको दोहोलो काट्न सकिन्न होला तर आशा गरौँ कमजोर बन्दै जाला । यसको नाममा बन्द गर्न अब सम्भव नहोला । चानचुनको देशमा त सम्भव भएन भने अरूको के कुरा ? बन्दले रोगको रोकथाम त गर्ला, तर भोक ?? भोकको ओखती के त ? त्यसका लागि चहलपहल गर्नै पर्यो अर्को शब्दमा भनौँ, स्वतन्त्रको आवश्यकता पर्ने नै भयो । मानिसमा स्वतन्त्रताको चाहना कति प्रबल रहेछ भन्ने त नियममा चल्ने, सभ्य, सुसंस्कृत भनिएका राष्ट्रहरूमा बन्दको विरोध भएको घटनाले पनि त प्रष्ट पारेन र ? राज्यहरूले आवश्यकताअनुसार उपयुक्त नियम बनाएका हुन् तर प्रजातन्त्र नामको चरोलाई उडान भर्नबाट रोक्ने काम सजिलो रहेनछ । 

यो प्रजातन्त्र नामको चरो पनि अनौठो छ । इरानमा ‘हिजाब लगाउँदैनौँ’ भनेर महिनौँदेखि आन्दोलन भैरहेको छ, भारतको कर्नाकट राज्यमा ‘हिजाब लगाउने हाम्रो अधिकार हो, लगाउन पाउनुपर्छ’ भनेर आन्दोलन भयो । यी दुई घटनामाथि विश्लेषण गर्दा के भन्न सकिन्छ भने मानिस आफ्नो पहिचानसहित बाँच्न चाहन्छ । प्रश्न उदाङ्गिन वा ढाकिन चाहने होइन, प्रश्न आफ्नो अस्तित्वको रक्षा गर्ने, आफ्नो पहिचानको स्थापना गर्ने चाहना हो । आफू आफैँजस्तो भएर बाँच्ने चाहना हो । 

अतः रैथाने बन्दो राताकाँडेलाई पनि आफ्नै तरिकाले चिन्ने कि नचिन्ने, मान्ने कि नमान्ने, स्वीकार्ने कि नकार्ने, थचार्ने कि हटाउने, मार्ने कि तह लगाउने ? आआफैँले निर्णय गर्नुपर्ने दिन आयो जस्तो छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुषमा रिसाल सापकोटा

दुई दशकभन्दा बढी समयदेखि शिक्षण पेसामा आबद्ध सापकोटा ख्वप मावि भक्तपुरमा अध्यापनरत हुनुहुन्छ।

तपाईको प्रतिक्रिया