तेह्रथुममा टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा बगेका दुई जना...
पुस ७, २०८१ आइतबार
सप्तरी – २०७८ सालको कात्तिक महिना । राजविराजमा मौसम अलिअलि चिसिँदै थियो । सबैतिर छठको रौनक छाएको थियो । राधाका श्रीमान् रमेश एकै छिन् घुमेर आउँछु भन्दै साँझपख घरबाट निस्किए । श्रीमान् आउँछन् र खाना खाउँला भन्दै कुरिरहेकी राधा कुर्दा कुर्दै निदाउनुभयो ।
आँखा खुल्दा घरको भर्याङतिरबाट गीत बजेको सुन्नुभयो । जुरुक्क उठेर हेर्दा भर्याङतिरमा जे देख्नुभयो त्यो राधाको आँखाले कहिल्यै हेर्न नचाहेको दृश्य थियो । आफ्नै आँखाले प्रस्टै देखेको कुरा राधाले सपनामा पनि देख्न नसक्ने थियो ।
‘मोबाइलमा गीत बजिरहेको थियो तर भर्याङमा उहाँ झुण्डी रहनुभएको थियो, मेरो आँखाले सबैभन्दा पहिला उहाँको घाटीमै देख्यो, त्यसपछि के के भयो’ राधा भन्नुहुन्छ ‘धन्न मनोपरामर्श पाएँ र मेरो जीवन भने बाँकी र¥यो ।’
राधालाई आज पनि एउटै कुराको पछुतो लाग्छ । भन्नुहुन्छ ‘धामीको मात्र भर नपरेको भए श्रीमानलाई बचाउन सक्थेँ कि ।’
उमेरले राधा २० वर्ष लाग्नुभयो । कक्षा १२ पास गर्नुभएको छ । राधा र रमेशबीच २०७० सालमा प्रेम विवाह भएको थियो । बिहे भएको २ वर्षपछि रमेश २०७२ सालमा पहिलो पटक विदेश जानुभयो । त्यो बेला उहाँ स्थानीय एजेण्ट मार्फत एक लाख २५ हजार रुपैयाँ तिरेर मलेसिया जानुभएको थियो । रमेशले मलेसियामा ४ वर्ष बिताउनुभयो । मलेसियाकै कमाइले १० धुर जग्गा पनि किन्नुभयो ।
जग्गा किनेर पक्की घर बनाउन १२ लाख रुपैयाँ लाग्यो । जसका लागि बैङ्कमा जग्गा राखेर १४ लाख रुपैयाँ ऋण लिनुभयो । २ लाख घर खर्चमै सकियो । घर बनाउन ऋण लागेपछि रमेशले फेरि पनि मलेसिया नै जाने निधो गर्नुभयो ।
२०७७ सालमा पहिले काम गरेकै कम्पनीमा रमेश दोस्रो पटक रोजगारीका लागि मलेसिया उड्नुभयो ।
रमेश मलेसिया पुगेको दुई महिनापछि संसार भरी कोरोना महामारी सुरु भयो । मलेसियामा काम गर्दा गर्दै रमेशलाई पनि कोरोना सङ्क्रमण भयो । सङ्क्रमित भएपछि रमेशलाई कम्पनीले कोठामै आराम गर्न भन्यो । तर यही बीचमा रमेशलाई के भयो भयो ।
‘त्यो बेलामा नै उहाँले एकदमै फरक व्यवहार देखाउनुभएको थियो रे, उताबाट मलाई साथीले आजकाल रमेश काममा मर्नै गर्दैन, खाली सुत्छ मात्र भनेर फोनमा भनेको थियो’ राधा साथीले रमेशका बारेमा मलेसियाबाट बताएको कुरा सुनाउनुहुन्छ ।
त्यो बेला रमेशले पनि फोनमा भन्नुभएको थियो ‘मलाई अचेल खाली टाउको मात्र दुख्छ, मलाई कि त घर लानु नत्र म यतै मर्छु होला ।’
कोरोनाले कम्पनी बन्द भयो । रमेश नेपाल फर्कन चाहनुहुन्थ्यो । तर कोरोनाकै कारण स्वदेश फर्कन सहज भएन
राधासँग रमेश बारम्बार मलाई छिटो घर लैजाऊ भन्दै धुरुधुरु रुनुहुन्थ्यो ।
रमेश मलेसियामा छदै राधालाई श्रीमान् अवस्थाबारे चिन्ता थियो । स्वदेश कसरी ल्याउने भन्ने आतुर त कति हो कति । तर नियन्त्रणभन्दा बाहिर थियो त्यो बेलाको स्थिति ।
‘उहाँले मलेसियामा पनि दुई पटक आत्महत्याको प्रयास गर्नुभएको रहेछ’ राधा भन्नुहुन्छ ‘उताबाट साथीले मलाई फोन गर्दै रमेशले दुई पटक आत्महत्या गर्न खोजिसक्यो यसलाई जतिसक्दो छिटो घर लग्नुस् भनेको थियो ।’
रमेशले आत्महत्याकै प्रयास गरेको खबरपछि भने राधाले माइतीको सहयोग लिनुभयो । तीन लाख रुपैयाँ ऋण काढेर मलेसिया पठाउनुभयो । र रमेशलाई स्वदेश ल्याउनुभयो ।
रमेश नेपाल त आउनुभयो । तर उहाँको व्यवहार भने पहिलेभन्दा निकै फरक थियो । घरमा झगडा गर्ने, रक्सी खाने, भनेका कुरा नमान्ने रिसाउनेजस्ता व्यवहारहरू रमेशका लागि सामान्य थियो । कहिले परिवारलाई एकदमै माया गर्नुहुन्थ्यो त कहिले उनीहरूसँगै झगडा गर्नुहुन्थ्यो । रमेशको अनौठो व्यवहारकै कारण परिवारका सदस्यमा पनि चिन्ता बढेको थियो ।
कोहीले आँखा लागेको भने त कोहीले धामी लगाए निको हुने बताए । राधा र सासू ससुराले राधाका लागि हर प्रयास गर्नुभयो । तर सबैजसो प्रयासहरू निरर्थक रह्यो ।
‘झारफुक गरेको बेला राम्रो व्यवहार नै देखाउनुहुन्थ्यो, त्यो बेला त निको भयो होलाजस्तो लाग्थ्यो’ राधा पछुतो मान्दै भन्नुहुन्छ ‘सबै जनाले धामीकै कुरा पत्याएर बस्यौँ, धामीकै कुरा पत्याउँदा मेरो श्रीमानको ज्यानै गयो ।’
श्रीमानले घरमै भर्याङमा प्राण त्यागेपछि राधाका लागि संसार सकिएको थियो । राधालाई रुन मन मात्र लाग्थ्यो । खाना खान मन नलाग्ने, निद्रा नलाग्ने, निद्रामा बारम्बार बिउँझिरहने, अब त संसारै सकियो, आफू केही पनि गर्न सक्दिन होला भन्ने सोच बारम्बार आइरहन्थ्यो ।
कुनै पनि कुरामा राधाको मन रम्दैन थियो ।
‘मलैले आफूले आफूलाई बोझ ठानिरहेको थिएँ, अब बाँचेर पनि बेकार छ भन्ने मात्र लाग्थ्यो’ राधा त्यो बेलाको आफ्नो अवस्था सुनाउँदै भन्नुहुन्छ ‘घर चित्र बस्दा पनि रमेश यतै छ कि जस्तो मात्र लाग्ने, उसले मलाई जानाजानी छाडेर गयो भनेर उसैसँग रिस मात्र उठ्थ्यो ।’
सप्तरीमा सञ्चालित सामी कार्यक्रम अन्तर्गत जब राधाको भेट मनोपरामर्शकर्तासँग भयो तब बिस्तारै राधाको जीवनले नयाँ मोड लिन थाल्यो । नियमित मनोपरामर्शमार्फत नै मृत्युलाई स्विकार्न पर्छ भन्ने भावना उजार भएको बताउनुहुन्छ राधा ।
मरेर जानेहरूको कथा, भविष्यको चिन्ता, छोराछोरीको माया सबैलाई एउटै भाँडोमा राखेर हेर्दा राधालाई बालबच्चाकै मायाले जित्न थाल्यो । आफूसँग भएको सीप, आफूले गर्न सक्ने काम, पैसा र घर व्यवहारको व्यवस्थापन लगायत सबै कुरा मनोपरामर्शबाटै सिक्दै जानुभयो राधाले ।
श्रीमानले संसार छाडेर गएपछि राधाको मनले पीडा बिसाउने चौतारी पायो ।
पटक पटकको मनोपरामर्शकर्तासँगको भेटघाट र छलफलपछि राधामा थुप्रै परिवर्तनहरू आउन थाल्यो ।
‘पहिला त केही गर्न सक्दिन होलाजस्तो मात्र लाग्थ्यो, रुन मात्र मन लाग्थ्यो तर अहिले अवस्था त्यस्तो छैन, अहिले त म पनि केही गर्न सक्छु भन्ने आँट मनदेखि नै पलाएको छ’ राधा सुनाउनुहुन्छ ।
राधाका दुई छोरा छन् । घरमा सासू सूरा, दुई छोरा र आफू गरी पाँच जनाको परिवार छ ।
राधालाई आजकाल बाँच्ने हो भने पृथ्वीमा आफ्नो लागि कोही न कोही हुने रहेछन् भन्ने भान हुन थालेको छ ।
घरमै श्रीमान् गुमाउनुको पीडामा डुबेर बस्नुभएकी राधा अहिले गुडियाहरू बनाउने र लुगा सिलाउने काम समेत गर्न थाल्नुभएको छ ।
आप्रवासी स्रोत केन्द्रको सहजीकरणमा वैदेशिक रोजगार बोर्ड र बिमामार्फत उहाँले २० लाख रुपैयाँ पनि पाउनुभयो । जसमध्ये १४ लाख रुपैयाँ बैङ्कमा तिरेर जग्गा फुकुवा गर्नुभयो ।
६ लाख रुपैयाँ दुई छोराको नाममा मुद्दती खाता खोलेर राख्नुभएको छ ।
घरमा हास पनि पाल्नुभएको छ । त्यसको रेखदेख सासू र जेठा छोराले गर्छन् ।
कुनै बेला मानिसलाई समय र परिस्थितिले नै कमजोर बनाउँछ । राधालाई पनि त्यस्तै भएको थियो । तर कमजोर समयलाई शक्तिमा बदलेर अघि बढ्न मनोपरामर्श सेवाले सहयोग गर्यो । अहिले त राधालाई सुन्दर संसार देख्न बाँच्नु पर्ने रहेछ भन्ने लागेको छ ।
भन्नुहुन्छ ‘सबै कुरा सोच रहेछ, मनोपरामर्शपछि सोच परिवर्तन भएको छ, अब सङ्घर्ष गरेर जीवनमा अघि बढ्छु ।’
(लेखक वेवी कुमारी यादव सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत सप्तरीको राजविराज नगरपालिकामा मनोपरामर्शकर्ताको रूपमा कार्यरत हुनुहुन्छ । सामी नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय कार्यक्रम हो । )
व्यक्तिगत परिचय गोप्य राखिएको छ – सम्पादक
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।