दुर्गम गाउँमा बस पुग्दा चालक र गाडीको पूजा गर्दै स्थानीयले साँटे खुसी

 पुस ९, २०७९ शनिबार १७:४२:२१ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको बोलङ्ग–बोलङ्गमा पहिलो पटक बस पुग्दा स्थानीयहरुले खुसी साँट्दै यात्रुवाहक बस, चालक र सह–चालकलाई अक्षता र फूलमालाले भव्य स्वागत गरेका छन् । 

रामेछाप नगरपालिकाकै दुर्गम र विकट गाउँले परिचित बोलङ्ग–बोलङ्ग गाउँमा रामेछाप नगरपालिकाले कच्ची सडक निमार्ण गरेपछि पहिलो पटक यात्रु लिएर बस पुुगेको हो ।

नगरपालिकाले सडक निमार्ण गरिदिएसँगै पहिलो पटक बस आउँदा आफूहरुलाई निकै खुसी लागेको रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ्गबोलङ्गकी बिनाकुमारी सुनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सडक नहुँदा हामीहरुलाई धेरै दुःख थियो । सडक अभावकै कारण यस गाउँका नागरिकहरुले बिरामी पर्दा समेत डोकोको भर पर्नुपर्ने बाध्यता थियो । अहिले निकै सहज भएको छ ।’ 

त्यस गाउँमा सडक पहुँच नहुँदा अहिलेसम्म खेत तथा बारीमा उत्पादन गरेका वस्तुसमेत बिक्री गर्न समस्या थियो । अब उत्पादित वस्तुहरुलाई बजारसम्म पुर्याउन सजिलो हुने अर्का स्थानिय लालकाजी मगर बताउनुहुन्छ । 

सडक निमार्णपछि नियमित रुपमा दैनिक हिमाल तराई यातायात सेवा समितिले एउटा बस सञ्चालन गरेको छ । त्यसैगरी यातायात व्यवसायीहरुले साना गाडी तथा जीप सञ्चालनको तयारी पनि गरिरहेका छन् ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया