देउवालाई भेट्दैमा शङ्का गर्नुपर्दैन, प्रचण्डलाई विश्वासकाे मत दिन्छाैँ : प्रदीप यादव

 पुस २२, २०७९ शुक्रबार १८:३२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवालाई भेट्दैमा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । 

आज शुक्रवार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद यादवले यस्तो बताउनुभएको हो । उहाँले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘भेटघाट गर्दैमा शङ्का गर्नुपर्दैन । अरू कुनै विषयमा पनि भेटघाट हुनसक्छ । भेट नै नगर्नु भन्ने होइन । त्यसैले भेटघाट भयो भन्दैमा शेरबहादुर देउवाको पक्षमा गएको होइन । हाम्रो पार्टीले राष्ट्रपतिकोमा गएर हस्ताक्षर गरेका छ । हामी प्रचण्डजीलाई मत दिन्छौँ । हामी सरकारको पक्षमा छौँ ।’

यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले सबै राजनीतिक दललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेको बताउनुभएको छ । उहाँले विश्वासको मत पाउनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो । सबै पार्टीसँग छलफल चलिरहेको र सबै पार्टी सकारात्मक रहेकाले विश्वासको मत पाउनेमा विश्वस्त रहेको उहाँको भनाइ थियो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले आधिकारिकरूरुपमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेसले प्रधानमन्त्री बन्न आग्रह नगरेको बताउनुभयो । उहाँले विभिन्न स्तरबाट प्रधानमन्त्री बन्नका लागि प्रस्ताव आए पनि पार्टीबाट आधिकारिकरूपमा भने नआएको बताउनुभयो । उहाँले नागरिकलाई गरेको वाचा र एकछिनमै परिवर्तन गर्ने कुराले पार्टीको अस्तित्व गुम्ने भन्दै अहिलेकै सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको बताउनुभयो ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भने सरकारमा सहभागी कुनै पार्टीले पनि आफूलाई विश्वासको मत दिन आग्रह नगरेको बताउनुभयो । विश्वासको मत अहिलेको सरकारलाई दिने वा नदिने भन्नेबारेमा कुनै निर्णय पार्टीमा भइ नसकेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया