बाग्मतीका भाग्यमानी मुख्यमन्त्री : मन्त्रीको झण्डा हल्लाउँदै गएर मुख्यमन्त्रीमा नियुक्त

 पुस २५, २०७९ सोमबार १८:५६:३८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – दुई पटकसम्म बाग्मती प्रदेशको मन्त्रीका रूपमा काम गर्दै आउनुभएका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल यस प्रदेशका भाग्यमानी नेताका रूपमा परिचित हुनुहुन्छ । आज सोमवार प्रदेश प्रमुखकोमा मुख्यमन्त्री पदको दाबी पेस गर्न जाँदा मन्त्रीका रूपमा झण्डा हल्लाउँदै पुग्नुभएका जम्कट्टेल फर्कँदा मुख्यमन्त्री बनेर फर्कनुभएको छ । सङ्घीयता कार्यान्वयनपछि सबैभन्दा धेरै पदमा रहने नेताका रूपमा जम्कट्टेललाई लिन सकिन्छ ।

यस प्रदेशमा पहिले आन्तरिक मामिला मन्त्री बन्नुभएका उहाँ पछि नेकपा विभाजनपछिको सरकारमा आर्थिक मामिला मन्त्री बन्नुभयो । अहिले फेरि ७० जना सांसदको समर्थनमा यस प्रदेशका मुख्यमन्त्री बन्न सफल हुनुभयो । यस प्रदेशको पहिलो र दोस्रो कार्यकालमा विजयी भएका सांसदमध्ये भाग्यमानी हुनुहुन्छ जम्कट्टेल । दुई पटक मन्त्री भइसकेपछि काम गर्नका लागि अनुभव पनि भएको उहाँ बताउनुहुन्छ । यस प्रदेशमा केही न केही नयाँ काम गरेर देखाउने उहाँको भनाइ छ ।

जम्कट्टेलले मन्त्रालयको सङ्ख्या घटाउने बताउनुभएको छ । यस प्रदेशमा रहेका २४ वटा मन्त्रालयलाई घटाएर ११ वटा मन्त्रालय बनाउने मुख्यमन्त्री जमकट्टेलले बताउनुभयो । पहिलो चरणमा दलहरूसँग सहकार्य गरेर केही मन्त्री नियुक्त गर्ने उहाँको भनाइ छ । अहिलेको दोस्रो कार्यकालमा केही न केही फरकरूपमा काम गर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्रीका रूपमा नियुक्त भएलगतै पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उहाँले अब यस प्रदेशमा विकासको कामले गति लिने दाबी गर्नुभयो । 

धादिङबाट बाग्मतीको प्रदेश सभा सदस्यमा विजयी हुनुभएका नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल दोस्रो प्रयासमा मुख्यमन्त्री बन्नुभएको हो । प्रदेश सभाको पहिलो कार्यकालमा दुई पटक मन्त्री बन्नुभएका उहाँ दोस्रो कार्यकालमा भने बाग्मतीको चौथो मुख्यमन्त्री बन्नुभयो । बाग्मतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुभएको थियो ।

यसअघिको कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुले नै जम्कट्टेललाई मुख्यमन्त्रीको बाटो खुलेको थियो । बाग्मतीमा कांग्रेसले बलियो दाबी गरेको थियो । एमाले नेतृत्वको गठबन्धन बनेपछि भने जम्कट्टेललाई पहिलो चरणमै मुख्यमन्त्री हुने अवसर जुरेको हो । उहाँ प्रदेश झरेपछि निरन्तर सत्तामा हुनुहुन्छ । 

यस प्रदेशमा नेकपा एमाले र माओवादीले आलोपालो मुख्यमन्त्री पाउने भएपछि पहिलो चरणमा भने माओवादीले यसको नेतृत्व गर्ने सहमति भएको छ । गठबन्धनमा भएको सहमतिअनुसार बाग्मतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उपसभामुख एमालेले पाएको छ ।

जम्कट्टेल यसअघि २०७४ मा नेकपाको सरकार हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्थ्यो । नेकपा विभाजन हुँदा उहाँले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । २०७४ को चुनावमा धादिङ क्षेत्र नम्बर– १ को प्रदेश सभा (ख) बाट निर्वाचित हुनुभएका जम्कट्टेल गएकाे मङ्सिर ४ गतेकाे चुनावमा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिनुभएका जम्कट्टेल अहिले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्जसमेत हुनुहुन्छ । २०४४ सालमा अखिल छैटौँमा आबद्ध भएर उहाँले विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो । २०४८ बाट उहाँ मजदुर सङ्गठनमा लाग्नुभएको थियो । औद्योगिक मजदुर सङ्गठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष हुनुभएका उहाँ २०५२ सालमा माओवादीकाे सशस्त्र जनयुद्धमा लाग्नुभयाे । त्यसयता माओवादीमा निरन्तर क्रियाशील उहाँ २०६० सालदेखि एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घको अध्यक्ष भएर काम गर्नुभयो ।

बीए, बीएलसम्मको अध्ययन गर्नुभएका जम्कट्टेल मजदुर सङ्गठनको नेतृत्वमा आएपछि राजनीतिक उचाइमा पुग्नुभएको हो । उहाँले २०६३ मा पुनर्स्थापित संसद्को अन्तरिम विधायिका हुनुभएको थियो । उहाँ २०६४ मा भएको पहिलो संविधान सभा चुनावमा धादिङ क्षेत्र नम्बर– ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई हराएर थप चर्चामा आउनुभएको थियो । यद्यपि २०७० मा भएको संविधान सभाको दोस्रो चुनावमा भने उहाँ पाण्डेसँगै पराजित हुन पुग्नुभयो । यस पटक उहाँले प्रतिनिधि सभा सदस्य बन्ने इच्छा देखाउनुभएको थियो । भागबन्डामा धादिङ १ मा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहनुभएका निवर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डेले दाबी नछाडेपछि उहाँ पुनः प्रदेश सभा सदस्यमा दोहोरिनुभएको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया