कसैले याे सरकार ढाल्छ कि भनेर नसाेच्नु हाेला, धेरै खेलाडीहरू दर्शक भएका छन् : ओली

 पुस २५, २०७९ सोमबार १९:३०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् उच्चस्तरीय राजनीतिक समितिका संयोजक केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर र स्थायीरूपमा चल्ने जिकिर गर्नुभएकाे छ ।

आज सोमवार 'सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम' सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार स्थिरताका लागि बनाइएको बताउनुभएको हो । उहाँले यो सरकार स्थायी सरकार भएकाले प्रभावकारीरूपमा चल्ने बताउनु भयो । उहाँले सरकार ढलाउने खेल नहुने भन्दै सरकार ढल्छ कि भनेर नसोच्न सबैलाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले कर्मचारीलाई वर्तमान सरकार स्थायी र स्थिर सरकार हो भन्ने ठानेर काम गर्न आग्रह पनि गर्नुभयो । उहाँले सरकारलाई नेकपा एमालेले सम्पूर्णरूपमा साथ, सहयोग र समर्थन दिने पनि बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘यो सरकारभित्र कुनै खेल हुन्छ कि ? कसैले फेरि यो सरकार ढाल्छ कि भनेर नसोच्नु होला । धेरै–धेरै खेलाडीहरू दर्शक भएका छन् र धेरै बाइ–साइडर्स भएका छन् । रिङभन्दा बाहिर बसेर हेर्न बाध्य भएका छन् । यो यत्तिकै बनेको छैन र यो सरकार स्थिरताका लागि बनाइएकाे हाे । यो सरकार बनाउने र गिराउने खेल होइन । कुनै प्रकारको हल्लाको पछाडी लाग्नुको आवश्यकता छैन । यो सरकार एउटा निकम्मा, निष्क्रिय, शिथिल, यथास्थितिमा रहने होइन । गतिशील स्थायी सरकार हो ।’

अध्यक्ष ओलीले सरकारलाई विश्वासको मत दिनका लागि संसदमा भएका सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । उहाँले सरकार निर्माणमा छिटो–छिटो राजनीतिक खेल भएको भनिएको भन्दै आफूहरूले छिटो–छिटो नभइ सुविचारित ढङ्गले सरकार निर्माण गरेको बताउनुभयो । उहाँले वर्तमान सरकार निर्माणका लागि पुस ४ गते पछिदेखि नै छलफल सुरु भएको भन्दै धरै छलफलपछि मात्रै यो सरकार बनाइएको उल्लेख गर्नुभयाे ।

अध्यक्ष ओलीले सरकारप्रति कुनै आशङ्काको दृष्टि नराख्न अन्य देशलाई आग्रह गर्नुभयो । उहाँले सरकारले समस्यारहित छिमेक सम्बन्ध र वैदेशिक नीति सञ्चालन गर्ने बताउनुभयो । सरकारको नीति वैदेशिक सम्बन्धलाई सुदृढ बनाउने रहेको उहाँको भनाइ छ ।

उहाँले सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने र नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमअनुसार काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया