बाग्मती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेलद्वारा शपथ ग्रहण, सानो आकारको मन्त्रिपरिषद् गठन

 पुस २६, २०७९ मंगलबार १०:४८:३८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्री जम्मकट्टेललाई शपथ ग्रहण गराउनु भएको हो । यसैगरी प्रदेश प्रमुख शर्माले एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापालाई मन्त्री पदमा शपथ ग्रहण गराउनुभयो ।

बाग्मतीमा सानो आकारको मन्त्रिपरिषद् गठन गरेर शपथ ग्रहण समेत गरिएको हो । थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने थापालाई विना विभागीय मन्त्रीका रुपमा आज शपथ ग्रहण गराइएको हो । अरु सबै मन्त्रालय मुख्यमन्त्री जम्मकट्टेलले समाल्नु भएको छ ।

७० जना सांसदको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बन्नु भएको हो । उहाँलाई एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ । एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २–२ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दाबी गरेका छन्।

मुख्यमन्त्री जम्मकट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा ९ र बढीमा ११ वटा कायम गर्ने बताउनु भएको छ । जसका कारण उहाँलाई भागबन्डा मिलाउन सकस पर्ने देखिन्छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया