डोल्पादेखि दैलेख, बाँके हुँदै काठमाडौं : किन बन्नुपर्‍याे बामदेवलाई सांसद ?

 असोज २३, २०७५ मंगलबार १७:२२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बर्दिया १ बाट प्रतिनिधिसभाको चुनाव हारेका बामदेव गौतमले जसरी भए पनि सांसद हुने रहर गर्नुभएको धेरै भयो ।

तर कसैले ठाउँ नछोडेपछि काठमाडाैं ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरलाई फकाउन बल्लतल्ल उहाँ सफल हुनुभयो । मानन्धरले राजीनामा दिएपछि काठमाडौं ७ मा अब उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचनमा उठेर सांसद बन्ने गौतमको दाउ छ ।

तर जसरी पनि सांसद हुने नेता गौतमको चाहनालाई नेकपाकै नेता कार्यकर्ताले रुचाएका छैनन् । त्यसमाथि पाँच वर्षका लागि जितेका नेतालाई हटाएर हारेका गौतमलाई सांसद बनाउन खोज्नु जनमतको अपमान भएको भन्दै आलोचना सुरु भैसकेको छ ।

शीर्ष नेताहरुले पनि नेता गौतमलाई फकाउने प्रयास गरेकै हुन् । तर नेता गौतमले जिद्दी नछाडेपछि मानन्धरलाई फकाउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि लाग्नुपर्यो । अन्त्यमा पार्टीले जे भन्छ, त्यो मान्छु भन्दै आफ्नो ठाउँ छोड्न मानन्धर बाध्य हुनुपर्यो ।

डोल्पादेखि दैलेख, बाँके हुँदै काठमाडौं

यसअघि नेता गौतम डोल्पाबाट सांसद बन्ने चर्चा थियो । त्यसअनुसार पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा दिएर ठाउँ छोड्न पार्टी नेतृत्वले आग्रह गर्यो । तर सांसद बुढाले मात्र होइन, डोल्पाकै युवाहरुले समेत मानेनन् ।

डोल्पाबाट चुनाव लड्ने प्रयास विफल भएपछि नेता गौतमको ध्यान दैलेख र बाँकेतर्फ मोडियो । तर त्यहाँ पनि स्थानीय नेता कार्यकर्ताले मानेनन् । अन्त्यमा काठमाडौं ७ मा मानन्धरलाई गलाउन उहाँ सफल हुनुभयो ।

काठमाडौं ७ मा गाह्रो

रामवीर मानन्धरलाई फकाउन सजिलो भए पनि काठमाडौं ७ का मतदातालाई रिझाउन नेता गौतमका लागि त्यति सजिलो छैन । चुनाव हारेका नेता जसरी पनि सांसद हुन खोज्यो भनेर पार्टी नेता कार्यकर्ताले नै आलोचना गरिरहेका छन् । नेता गौतम सांसद भएर के हुन्छ र उहाँले अहिलेसम्म नभएको के कुरा  गरेर देखाउन सक्नुहुन्छ भन्ने जवाफ कोहीसित छैन ।

स्वभाविक ढंगबाट पद रिक्त भएर उपनिर्वाचन हुने भएको भए मतदातामा पनि उत्साह हुन्थ्यो । तर नेता गौतम आफू जसरी पनि सांसद हुने चाहनामा यस्तो खेल हुँदैछ भन्ने सन्देश बाहिर गएको छ । अर्थात नेता गौतमप्रति नेकपाकै कार्यकर्ता तथा मतदाता असन्तुष्ट छन् । यसकारण चुनाव जित्न उहाँलाई अप्ठ्यारो पर्ने देखिन्छ ।

त्यसमाथि रामवीर मानन्धर नेवार समुदायको उम्मेदवार हुनु तथा कांग्रेसको मत राप्रपालाई जानुले पनि उहाँको जित भएको थियो । तर अहिले पहिलेको जस्तो अवस्था छैन । नेकपा नेतृत्वको सरकारको कार्यशैली र नेता गौतमको आफ्नै छविका कारण पनि मतदाता निराश छन् ।

काठमाडौं ७ बाट मानन्धर दोस्रो पटक सांसदमा निर्वाचित हुनु भएको थियो । पछिल्लो चुनावमा तत्कालीन एमालेका उम्मेदवार मानन्धरले १८ हजार १ सय २ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका विक्रम थापाले १० हजार ७९ मत प्राप्त गर्नु भएको थियो ।

पछिल्लो समयमा सरकारको घट्दो लोकप्रियतका बीच काठमाडौं ७ नै भए पनि बामदेवलाई चुनाव जित्न सजिलो छैन । यसअघिको चुनावमा उम्मेदवार नै नउठाएको कांग्रेसले केही साना दलहरुसँग गठबन्धन गरेर वा कुनै राष्ट्रिय अनुहारलाई उम्मेदवार बनाए बामदेव गौतम पनि हार्ने सम्भावना रहन्छ ।

प्रधानमन्त्री बन्ने चाहना

उपप्रधानमन्त्री भैसकेका नेता गौतमलाई प्रधानमन्त्री बन्ने चाहना हुनु स्वभाविक नै हो । हुन त अहिलेलाई ५ वर्षसम्म केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गर्नुहुन्छ भनेर एकथरि नेकपाका नेताहरुले भन्दै आएका छन् । तर पार्टी एकता गर्ने बेला आलोपालो गर्ने भद्र सहमति भएको छ भनेर प्रचण्डले बेलाबेला सम्झाउने गर्नुहुन्छ । ओली र उहाँ पक्षका नेताहरु आलोपालो गर्ने कुरा सुन्न पनि चाहँदैनन् ।

भोलि पालो आउने बेला ओलीले नछाड्ने हो भने आफूलाई अप्ठ्यारो पर्ने प्रचण्डले बुझिसक्नुभएको छ । त्यसैले त्योबेला बामदेवलाई अघि सार्ने उहाँको योजनाअनुसार नै यस्तो भैरहेको नेकपाका नेताहरु बताउँछन् । प्रचण्डको जोडबलमा आफू प्रधानमन्त्री बन्ने नेता गौतमको पनि चाहना छ ।

तर सांसद नहुँदासम्म प्रधानमन्त्री बन्न पाईंदैन । त्यसैले प्रधानमन्त्री बन्न सक्ने भोलिको बाटो सहज बनाउन नेता गौतम जसरी पनि सांसद हुन लाग्नुभएको बुझ्न सकिन्छ । तर प्रधानमन्त्री बन्ने बाटोजस्तै सांसद हुने बाटो पनि त्यति सहज चाहिँ देखिँदैन । 

अन्तिम अपडेट: बैशाख २, २०८१

2 Comments

  • कृष्ण पोख्रेल

    Oct. 10, 2018, 7:07 a.m.

    म त अचम्मित भएको छु हजुर यो खबर पढेर सुनेर निर्वाचनमा हारेका नेता साम्सद बन्ने अझ प्रधानमन्त्री बन्न इच्छुक हुने हाल को चुनाबमा जितेर अाएका नेतालाई बाहिर बस्न फकाउने के यहि हो त लोकतन्त्र जनताको मतको कदर ?जनताको सेवामा लाग्ने नेतालाई अाफु संन्सदभवनमा नभए पनि जनताको सेवामा लाग्न सकिन्छ र अहिले त अाफ्नै पार्टीको दुई तिहाइको सरकार छ किन चाहियो प्रतिनिधि सभामा स्थान अाफुले जाने बुझेको कुरा बाहिरै बाट अाफ्ना पार्टीका कार्यकर्तालाई दिए हुन्न किन चाहियो कुर्सी ?मेरो बुझाईमा इ जनताको सेवामा अाएका होइनन् अाफ्नो स्वार्थ पूरा गर्न र देशलाइ कङ्गाल बनाउन राजनितीमा अाएका हुन्।

  •  0 Reply
  • Bhupendra Nirajan

    Oct. 9, 2018, 6:17 p.m.

    एक जना नेता या एउटा झुण्डको स्वार्थका लागि लोकतन्त्रको मर्म र सौन्दर्य आर्यघाटमा पुगेको दिन। नेताको लालचका कारण नागरिकलाई भेडा बनाउने निरन्तरताको पनि पराकाष्टा!

  •  0 Reply

तपाईको प्रतिक्रिया