लमजुङकाे बेसीसहर नगरपालिकाकाे सुन्तलामा 'ग्रिनिङ' काे प्रकाेप

 पुस २९, २०७९ शुक्रबार २०:२१:३१ | श्यामशितल परियार
unn.prixa.net

फाइल फाेटाे

लमजुङ – लमजुङमा विभिन्न सुन्तला बगैँचामा 'ग्रिनिङ' राेगकाे प्रकाेप देखिएकाे छ । बाली संरक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोग र कृषि ज्ञान केन्द्र लमजुङको समन्वयमा जिल्लाका विभिन्न १६ वटा सुन्तला बगैँचाका सुन्तलाको पात नमुना सङ्कलन गरी काठमाण्डाैकाे प्रयोगशालामा पीसीआर परीक्षणका लागि पठाइएकोमा १३ वटा बगैँचाको रिपोर्ट नेगेटिभ आएको र तीन वटा बगैँचाको सुन्तलामा 'ग्रिनिङ' रोगको समस्या पुष्टि भएको ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेसीसहर नगरपालिका १ उदीपुर, बेसीसहर नगरपालिका ११ चिती, मर्स्याङ्दी गाउँपालिका ९ लामागाउँ र सुन्दरबजार नगरपालिका १ कुन्छामा रहेको सुन्तला बगैँचाका नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । 

परीक्षणका क्रममा बेसीसहर नगरपालिका ११ चितीका तीन वटा सुन्तला बगैँचामा 'ग्रिनिङ' रोगको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र लमजुङका बाली संरक्षण अधिकृत विजयराज पौडेलले बताउनुभयो । सुन्तलामा 'ग्रिनिङ' समस्या देखिएमा उत्पादन घट्ने, फलको स्वाद अमिलो हुने, पात साँघुरो हुने, छिर्केमिर्के हुने, एउटै दानामा एक भाग हरियो र अर्को भाग पहेँलो देखिने, बोटहरू सुक्दै जाने उहाँले बताउनुभयो । यस समस्याले वरिपरि रहेका बगैँचामा पनि असर गर्न सक्ने भएकाले 'ग्रिनिङ' को समस्या देखिएका सुन्तलाका बोटहरू पूर्णरूपमा नष्ट गरी नयाँ सुन्तलाका बिरुवा लगाउन उहाँको सुझाव छ ।

अन्य किसानले पनि सुन्तला उत्पादन वृद्धिका लागि व्यवस्थापकीय पक्षमा विशेष ध्यान दिन कृषि ज्ञान केन्द्रले आग्रह गरेको छ । लमजुङमा सुन्तला उत्पादन बर्सेनि घट्दै गएको छ । विगतमा ठूलो मात्रामा सुन्तला अन्यत्र निर्यात गर्ने लमजुङमा अहिले सिजनमै सुन्तला अन्य जिल्लाबाट आयात हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया