थारु समुदायमा माघीको रौनक, टुँडिखेलमा आज र भोलि महोत्सव

 पुष ३०, २०७९ शनिबार ८:१३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पश्चिम तराईका थारू समुदायमा यतिबेला माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी भोलि मनाइने भएकाले केही दिनअघिदेखि नै थारू बस्तीमा चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । यस पर्वलाई थारू समुदायले बरका तेउहार अर्थात ठूलो पर्वका रुपमा मनाउँछन् ।

माघीका अवसरमा थारू संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुने गरेको छ । गाउँ थारू बस्तीमा युवायवती माघीमा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्ने गर्छन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन आजथारू समुदायमा जिता मार्ने अर्थात् सामूहिक रुपमा सुँगुर, बङ्गुर मारेर खाने गरिन्छ । आज रातभर जाग्रम बसेर भजन कीर्तन गर्ने चलन छ ।

भोलि माघीका दिन बिहानै नजिकैको खोला नदीमा गएर नुहाउने गरिन्छ । नुहाएपछि आफूभन्दा ठूला मान्यजनसँग आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ । थारू समुदायले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर अर्थात गाउँको अगुवा, चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ ।

माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् । माघीको अवसरमा ठाउँठाउँमा मेला महोत्सव पनि हुने गर्छ । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा आज र भोलि काठमाण्डौको टुँडिखेलमा महोत्सव गर्न लागिएको छ ।

महोत्सवमा थारू सांस्कृतिक झाँकी, र्याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवम् बिक्री, मोटरसाइकल र्याली र विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ । महोत्सवमा थारू समुदायले माघी पर्वमा खाने विशेष खानाका परिकार राखिँदैछ । यस्तैथरूहट झापादेखि कञ्चनपुरसम्मको पौराणिक सांस्कृतिक नृत्य र गीत पनि प्रस्तुत हुँदैछ । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • buddha yonjan ama

    Jan. 14, 2023, 8:31 a.m.

    समाचार थारु समुदायको फोटो चाहि गुरुङको ?

  •  0 Reply

तपाईको प्रतिक्रिया