सोलुखुम्बुका होटल, पसल मूल्यसूचीविहीन : ठगिँदै उपभोक्ता

 पुस ३०, २०७९ शनिबार ९:३०:१५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुमा सञ्चालित प्रायजसाे होटल पसलहरुमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिने क्रममा बढेकाे छ । जिल्लामा सञ्चालित प्रायजसाे होटल पसलहरुले मूल्यसूची विना नै आफूखुसी सामग्रीहरु बिक्री गरिँदा उपभोक्ता ठगिने क्रम बढेको हो ।

उभोक्ता हित संरक्षण ऐन व्यवस्था भए पनि यहाँका प्रायजसाे होटल पसलहरुमा मूल्यसूची नहुँदा व्यापारीहरुले मनोमानी मूल्य लिने गरेका छन् । जसले गदौ उपभोक्ता हित संरक्षण ऐन नै कुण्ठित भएको उपभोक्ताहरुको गुनासो छ।

जिल्लाको उद्योग वाणिज्य सङ्घले मूल्यसूची निर्धारण गरी सबै साना उद्याेग, खाद्य स्टोर, किराना पसल, फेन्सी तथा कपडा पसल र होटलहरुमा वितरण गर्नुपर्ने भए पनि जिल्लामा उद्योग वाणिज्य सङ्घ निस्क्रिय हुँदा लामो समयदेखि मूल्यसूची कायम गर्न नसकिएको हो । अहिले सदरमुकाम सल्लेरी बजार क्षेत्रका पसलहरुमा समेत विना मूल्यसूची खाद्यान्न तथा अन्य सामग्रीहरु बिक्री भइरहेका छन् भने ग्रामीण भेगका सबै पसलहरुमा समेत मनोमानी रुपमा सामग्री बिक्री भइरहेका छन् । जसले गर्दा एउटै सामानको मूल्य पसल नै पिच्छे फरक पर्न गएको उपभोक्ताको गुनासो छ। 

पछिल्लो समय खाद्यान्नदेखि अन्य किराना सामग्रीहरुको मूल्य घटबढ भइरहे पनि मूल्यसूची कायम गराउने विषयमा सङ्घ निरीह हुँदा उपभोक्ता मारमा छन् । सङ्घ निस्क्रिय हुँदा आफूहरुले लामो समयदेखि मूल्यसूची कायम गर्न नसकेको सङ्घका सहसचिव महेश खालिङ राईले स्वीकार गर्नुभएकाे छ । 

जिल्ला सदरमुकाममा पर्ने सोलुदूधकुण्ड नगरपालिका क्षेत्रमा समेत मूल्यसूची छैन भने थुलुङ दूधकोशी, नेचासल्यान, माप्दूधकोशी, सोताङ, महाकुलुङ, लिखुपिके र खुम्बु पासाङ ल्हामु गाउँपालिका क्षेत्रको पसल तथा होटलहरुमा मूल्यसूची नभएको सम्बन्धित पालिकाले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार अनुगमन गर्दा मूल्यसूची जिल्लाको कुनै पनि होटल पसलमा मूल्यसूची नभएको पाइएपछि तत्काल मूल्यसूची राख्न व्यवसायीहरुलाई निर्देशन दिइएको छ । यदि निर्देशनको अवज्ञा गरे उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया