‘सुन्तला टिप्ने मात्रै नभइ बगैँचाको व्यवस्थापकीय पाटोमा पनि ध्यान दिऔँ’

 पुस ३०, २०७९ शनिबार १७:११:३१ | श्यामशितल परियार
unn.prixa.net

फाइल तस्बिर

लमजुङ – विगतमा ठूलो मात्रामा अन्यत्र सुन्तला निर्यात गर्ने जिल्ला हो, लमजुङ । विगतमा सिजनको बेला लमजुङको चिप्लेटी, रतनपुर, पौडेलगाउँ, सानो धिमिरे, ठूलो धिमिरे, चिती स्याउत लगायतका थुप्रै गाउँ सुन्तलाले पहेँलपुर देखिन्थे ।

सुन्तला उत्पादन राम्रो हुन्थ्यो । स्थानीयले सुन्तला बिक्रीबाटै लाखौँ कमाउँथे । सुन्तला टिप्नलाई केहीले काम समेत पाउँथे । अहिले भने सुन्तला मासिदै गएकाले त्यस्तो अवस्था नरहेको स्थानीय बताउँछन् ।

पहिले निर्यात, अहिले आयात

लमजुङमा उत्पादित रसिला, गुलिया सुन्तलाको माग बजारमा उच्च थियो । सुन्तला व्यापारी किसानको बगैँचामै पुगेर सुन्तला खरिद गर्थे । सुन्तला उत्पादनमा प्रख्याती कमाएको लमजुङमा अहिले सिजनमै बाह्य जिल्लाबाट सुन्तला आयात गर्नुपर्ने अवस्था छ । ठूलो रकम सुन्तला खरिदमा बाहिर जाने गरेको छ ।

जिल्लामा बर्सेनि सुन्तला उत्पादन घट्दै जाँदा आवश्यक सुन्तलाको माग पूर्ति गर्न बाहिरबाट सुन्तला ल्याउनुपर्ने बाध्यता छ ।

जिल्लामा बर्सेनि सुन्तला उत्पादन किन घट्दै गएको छ त ? कृषि ज्ञान केन्द्र, लमजुङका प्रमुख सुदीप खतिवडा भन्नुहुन्छ, ‘सुन्तलामा विभिन्न रोग, जीवाणु देखा पर्नु, सुन्तला बगैँचाको राम्रो व्यवस्थापन हुन नसक्नुका साथै परम्परागत खेती प्रणालीका कारणले जिल्लामा सुन्तला उत्पादन घट्दो देखिन्छ ।’

उहाँका अनुसार विगत २÷३ वर्षको तथ्यांकलाई नियाल्दा जिल्लामा पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूल खेती हुँदै आएको छ । यसवर्ष चार सय ५० हेक्टर क्षेत्रफल जमिनमा सुन्तला जातका फलफूलको खेती हुँदै आएको छ । यसवर्ष जिल्लामा १ सय ५० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाको खेती गरिएको छ ।

‘तुलनात्मक रुपमा उत्पादनशील बगैँचा घट्दै गएका छन् । केही नयाँ बगैँचामा नयाँ बिरुवा पनि लगाइएका छन् । तर ती बगैँचाबाट अहिले नै उत्पादन हुने अवस्था छैन,’ उहाँले भन्नुभयो । बेसीशहर नगरपालिका, मस्र्याङ्दी गाउँपालिका, सुन्दरबजार नगरपालिका लगायतका ठाउँमा सुन्तला बगैँचा रहेका बगैँचा रहेका छन् । 

सुन्तला उत्पादनमा कमी, किसान चिन्तित

सुन्तला खेती मासिदैँ जाँदा किसानहरु चिन्तित छन् । विगतमा सुन्तला बेचेर बर्सेनि एक लाख हाराहारीमा कमाइ गर्दै आउनुभएका बेसीशहर नगरपालिका–१, पौडेलगाउँका इन्द्रबहादुर खड्का भन्नुहुन्छ, ‘चार रोपनी जग्गामा सुन्तला लगाएको हो । पहिले सुन्तला बेचेर राम्रै कमाइ हुन्थ्यो । पछि बिस्तारै सुन्तलाका बोट मर्दै गए । सुन्तलाका बोट दाउरा बालेर सकिए । अहिले परिवारलाई खान पुग्ने सुन्तला पनि छैन ।’ सुन्तला खेती छोडी अहिले उहाँ व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ ।

सुन्तला उत्पादन घट्दै गएसँगै कतिपय किसानहरु वैकिल्पक कृषि पेशामा होमिएका छन् । 

सुन्तला बगैँचाको व्यवस्थापकीय पाटोमा ध्यान दिन आवश्यक

सुन्तला उत्पादक किसानले व्यवस्थापकीय पक्षलाई ध्यान नदिँदा पनि सुन्तला खेतीको क्षेत्रविस्तार र उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्र, लमजुङका प्रमुख खतिवडा बताउनुहुन्छ ।

‘कमजोर व्यवस्थापन छ । पुराना बगैँचाले धेरै उत्पादन दिदैँनन् । परम्परागत खेती प्रणाली छ,’ खतिवडाले भन्नुभयो, ‘किसानले फल मात्र टिप्ने नभइ व्यवस्थापकीय पक्षलाई कार्यगत योजनामा राखी, आवश्यक लगानी गरी अघि बढ्नु जरुरी छ ।’

उहाँका अनु्सार किसानहरुले सुन्तलाका रोगी हाँगाहरु, बुढा रुखहरु नियमित रुपमा काँटछाँट गर्नुपर्छ । उपयुक्त समयमा गोडमेल, सिंचाइ गर्नुपर्छ । बुढा रुखहरुलाई बढि मलखादको आवश्यकता पर्न सक्छ । त्यसमा पनि ध्यान दिनुपर्छ । साथै जीवाणुहरुले सुन्तला बगैँचालाई ध्वस्त बनाइरहेको हुन्छ । विभिन्न आवश्यक तत्व प्रयोग गरी त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । फल नटिपी राखेमा त्यसबाट बोटबाट हुने उत्पादनमा कमी आउन सक्छ । यस्ता कुराहरुमा किसानले ध्यान दिनु जरुरी हुन्छ ।   

सचेतनामूलक, सहयोगका कार्यक्रम सञ्चालन

कृषि ज्ञान केन्द्रले सुन्तला खेतीसम्वन्धी विभिन्न सचेतनामूलक कार्यक्रमका साथै सहयोगका कार्यक्रम पनि अघि बढाइरहेको कृषि ज्ञान केन्द्र, लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार केन्द्रले गएको वर्ष सुन्तला बगैँचा सुदृढीकरणका लागि किसानलाई प्रोत्साहनका रुपमा प्रति रोपनी पाँच हजार रुपैयाँ प्रदान गरेको थियो । यसले केही हदसम्म किसानको आकर्षण बढाउन सहयोग पुर्याइरहेको छ । 
सुन्तला उत्पादन घट्दै गए पनि बजारमा सुन्तलाको माग र मूल्य उच्च रहेकाले जिल्लाका केही पालिकाका युवाहरु सुन्तला खेतीमा काम गर्न इच्छुक रहेको र उनीहरु अघि बढिरहेको कृषि ज्ञान केन्द्र, लमजुङका बाली संरक्षण अधिकृत विजयराज पौडेलले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया