राष्ट्रिय भलिबल च्याम्पियनसिप : महिलातर्फ न्यू डायमण्ड र पुलिस, पुरुषतर्फ आर्मी र हेल्प नेपाल फाइनलमा

 पुस ३०, २०७९ शनिबार २०:३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सातौँ संस्करणको एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधिका लागि न्यू डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब खेल्ने भएका छन् । त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिसले अर्को विभागीय टोली एपीएफ क्लबको चुनाैती पार गर्दै फाइनलमा स्थान बनाउँदा न्यू डायमण्डले त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिससँगको भेट पक्का गरेको हो ।

पहिलो सेमिफाइनबाट फाइनलमा स्थान बनाउने क्रममा पुलिसले एपीएफलाई ३–२ को सेटमा स्तब्ध बनाएको हो । निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक बनेको खेलमा पुलिसले पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिका दुई सेटमा एपीएफले २५–१७, २५–२१ ले आफ्नो पार्यो ।चौथो सेट पुलिसले २५–२१ ले जित्दा खेल २–२ सेटको बराबरीमा आएको थियो ।पाँचौं सेटमा लम्बिएको खेलमा पुलिसले १५–७ को सहज जित हात पार्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो । अब पुलिसले साविक विजेता न्यू डायमण्डसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ ।

उता पुलिससँग उपाधि भेट पक्का गर्ने क्रममा न्यू डायमण्डले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३–१ को सेटमा जित निकालेको हो । पहिलो सेट आर्मीलाई १७–२५ ले सुम्पिएको न्यू डायमण्डले त्यसपछिका सेटमा लगातार जित निकाल्दै फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो । अब डायमण्ड उपाधिका लागि प्रतिष्पर्धा गर्दा लिग चरणमा भोगेको बदला लिने लक्ष्यमा हुनेछ । न्यू डायमण्डले फाइनलमा स्थान बनाउने क्रममा आर्मीविरुद्ध दोस्रो सेटमा २५–१९, तेस्रो सेटमा २५–१६ र चौथो सेटमा २५–१८को सहज जित निकालेको हो । फाइनल खेल आइतवार हुनेछ । त्यसअघि तेस्रो  स्थानका लागि एपीएफ र आर्मीबीच आइतवार नै खेल हुनेछ ।

यस्तै पुरुषतर्फको प्रतिष्पर्धामा पनि फाइनल समीकरण पूरा भएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लबले क्रमशः एपीएफ र नेपाल पुलिसलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । आर्मीले एपीएफलाई पराजित गर्ने क्रममा सोझो सेटमा जित निकालेको हो । पहिलो सेटमा २५–२३ को रोमाञ्चक जित निकाल्दा दोस्रो सेट र तेस्रो सेटमा समान २५–१७ र २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । यस्तै शनिवार नै सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा हेल्प नेपालले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको हो । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पुलिसलाई हराउने
क्रममा हेल्प नेपालले पहिलो सेट २५–२१ ले पक्षमा पारे पनि दोस्रो सेट भने २६–२४ ले गुमाएको थियो । तेस्रो सेटमा २५–१७ को जित निकालेको हेल्प नेपालले चौथो सेट पुनः २५–२० ले गुमाउँदा खेल २–२ को बराबरीमा पुुगेको थियो । अन्तिम तथा निर्णायक सेटमा १५–८ को रोमाञ्चक जित निकाल्दै आर्मीसँगको भेट पक्का गरेको हो ।

फाइनल खेल आइतवार हुनेछ । यस्तै तेस्रो स्थानका लागि एपीएफ र पुलिसबीच पनि आइतवार नै हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता रहेको छ । पुरुष र महिला दुवैतर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार पाउनेछन् । यस्तै उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया