प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : एपीएफ र मधेस प्रदेश विजयी

 माघ १, २०७९ आइतबार १९:१०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा आज सशस्त्र प्रहरीको एपीएफ क्लब र मधेस प्रदेश विजयी भएका छन् ।  

इटहरीमा भएको आजको पहिलो खेलमा एपीएफले बाग्मती प्रदेशलाई ८३ रनले हरायो । एपीएफले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको बाग्मतीले २० ओभरमा नाै विकेट गुमाएर ८३ रनमात्रै बनायो । बाग्मतीका लागि हेलिशा गुरुङले सर्वाधिक २२ रन बनाइन् । एपीएफका लागि निशा भटले तीन र सीता राना मगरले दुई विकेट लिइन् । 

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे एपीएफले २० ओभरमा चार विकेट गुमाएर एक सय ३६ रन बनायाे । एपीएफका लागि इन्दु बर्माले ३८ र सीता राना मगरले ३६ रन बनाइन् । बाग्मतीकी अस्मिका कर्माचार्य, खुशी डङ्गाेल, मनिशा उपाध्याय र साेनी पाख्रिनले एक/एक विकेट लिइन् ।  

प्रतियाेगितामा एपीएफको यो लगातार दोस्रो जित हो । समूह ए मा रहेकाे एपीएफ चार अङ्कका साथ तालिकाकाे शीर्ष स्थानमा छ । दुवै खेल हारेकाे बाग्मती तालिकाकाे तेस्राे स्थानमा छ । 

आजको दोस्रो खेलमा मधेस प्रदेसले कर्णाली प्रदेशलाई आठ विकेटले हराएको छ । कर्णालीले दिएको ८० रनको लक्ष्य मधेसले १० ओभर २ बलमा दुई विकेट गुमाएर भेटायो । मधेसका अनुराधा चाैधरीले नटआउट ३८ रन बनाइन् । कर्णालीकी बिना थापाले दुई विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे कर्णालीले २० ओभरमा छ विकेट गुमाएर ७९ रन बनायाे । कर्णालीका लागि त्रिश्ना विश्वकर्माले सर्वाधिक १५ रन बनाइन् । मधेसकी भूमि सिंहले चार र अमिरन निशाले दुई विकेट लिइन् ।

प्रतियाेगितामा मधेसकाे याे पहिलाे जित हाे । समूह 'बी' मा रहेकाे मधेस दुई अङ्कका साथ तालिकाकाे तेस्राे स्थानमा छ । दुवै खेल हारेकाे कर्णाली तालिकाकाे पुछारमा छ ।  

प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय गरी आठ टोलीले खेल्दैछन् । विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया