चिनी उत्पादक संघको सरकारलाई जवाफ : २५ प्रतिशत चिनी बिक्री हुँदा ६२ प्रतिशत भुक्तानी दिएका छौं

 असोज २३, २०७५ मंगलबार १९:९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – चिनी उत्पादक संघले पाँच दिनभित्र किसानहरुको बक्यौता रकम तिर्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ ।

चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले पाँच दिनभित्र किसानहरुको बक्यौता रकम तिर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशनप्रति आपत्ति जनाउनु भएको हो । 

सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिको मंगलबार बसेको बैठकमा उहाँले चिनीको बक्यौता रकम तिर्न सरकारले आफूहरुको गोदाममा थन्किएर बसेको चिनी साल्ट ट्रडिङमार्फत् खरिद गर्ने व्यवस्था गर्नुपर्ने शर्त पनि अघि सार्नुभयो ।

अध्यक्ष अग्रवालले २५ प्रतिशत चिनी बिक्री हुँदा आफूहरुले किसानहरुलाई ६२ प्रतिशत भुक्तानी गर्दा पनि सरकार र संसदीय  समितिले असन्तुष्टि जनाएकोमा पनि आपत्ति जनाउनुभयो । 

किसानहरुको १ अर्ब ५० करोड बक्यौता रकम तिहारपछि मात्रै तिर्ने गरी गरिएको सहमति पनि सरकारले तोडेको अध्यक्ष अग्रवालको आरोप छ ।

संघले चिनीको मूल्य वृद्धि नभएको दावी पनि गरेको छ । गएको वर्ष प्रतिकेजी ६३ रुपैयाँमा बिक्री गरिएको चिनीको मूल्य यसवर्ष ५७ रुपैयाँ कायम गर्दा पनि विरोध गरिएको अध्यक्ष अग्रवालको गुनासो छ ।

अध्यक्ष अग्रवालले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य सस्तोभएकाले स्वदेशी उद्योगलाई जोगाउन आफूहरुले केही समयका लागि सरकारलाई चिनीको आयातमा प्रतिबन्ध गराउन आग्रह गर्नु परेको पनि समितिलाई स्पष्टिकरण दिनुभयो ।

बैठकमा उपसमितिका सदस्यहरुले चिनीको मूल्य किन बढाएको भन्दै चिनी उत्पादकहरुको चर्को आलोचना गर्नु भएको थियो । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया