खोटाङको रावाबेसीमा कोभिड अस्पतालले निरन्तरता पाउँदा स्थानीय लाभान्वित

 माघ २, २०७९ सोमबार ९:३८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

खोटाङ - खोटाङको रावाबेसी गाउँपालिकामा कोभिड अस्पतालले निरन्तरता पाउँदा स्थानीय लाभान्वित भएका छन् ।

कोभिड–१९ को महामारीका बेला स्थापना गरिएको अस्थायी कोभिड अस्पताललाई पाँच शय्याको अस्पतालका रुपमा निरन्तरता दिइएपछि नागरिक लाभान्वित भएका हुन् । कुभिन्डेको हरमटारमा एक जना एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवाले निरन्तरता पाएपछि पालिकावासी सामान्य तथा जटिल किसिमका स्वास्थ्य समस्या भएको बेला जिल्ला अस्पताल दिक्तेल पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । 

अस्पतालबाट चौबिस घण्टा इमरजेन्सी, ओपीडी, प्रसूति, भिडियो एक्स–रे, ईसीजी लगायतका स्वास्थ्य सेवा उपब्ध गराइएको छ । गाउँपालिकाको कुभिन्डे, हौंचुर, दुबेकोल, डुम्रेधारापानी लगायतका वडाका स्थानीयले अस्पतालबाट नियमित तथा आकस्मिक स्वास्थ्य सेवा लिइरहेका छन् । अस्पतालमा दैनिक २० जनाको हाराहारीमा बिरामी आउने गरेको डा. मनोजकुमार शाहले बताउनुभयो । 

कोभिड–१९ को महामारी रोकथाम तथा न्यूनीकरणका लागि २०७७ सालमा कर्मचारी आवास भवनमा अस्थायी कोभिड अस्पताल स्थापना गरिएको थियो । कोरोना महामारीको सङ्क्रमण सामान्य भएसँगै सवैजसो अस्थायी कोभिड अस्पताल बन्द गरिए पनि रावाबेसी गाउँपालिकाले भने पाँच शय्याकाे अस्पतालका रुपमा निरन्तरता दिएको हो ।

अप्रेसन गर्नुपर्ने जटिल किसिमका बिरामीलाई जिल्ला अस्पताल वा अन्यत्र रेफर गर्ने गरिएको छ । स्वास्थ्यउपचारका लागि अन्यत्र जान नसक्ने निम्न आर्थिक अवस्थाका नागरिकलाई लक्ष्यित गर्दै कोभिड अस्पताललाई पाँच शय्याको अस्पतालका रुपमा निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • prabin magar

    Jan. 16, 2023, 4:51 p.m.

    good news

  •  0 Reply

तपाईको प्रतिक्रिया