यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने ...
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ – जनकपुर धामका दुई युवाको भारतमा अपहरण पछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभएको हो ।
उहाँले नेपालबाट घटनामा संलग्न भएको आशंकामा २ जना नेपाली नागरिक र भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउनु भयो । १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षका रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो ।
मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गएको सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको र सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् ।
विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताउनु भयो । अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरुले प्रहरीमा खबर गरेका थिए ।
प्रहरी नायव उपरीक्षक क्षेत्रीले भन्नुभयो, ‘शंकास्पद व्यक्ति २ जनालाई नियन्त्रणमा लिएका छौँ । इण्डिया प्रहरीले पनि तीन जना नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसन्धानबाट आज बिहान २ बजे दुई वटा शव ल्याइएको खबर आएको थियो। शव आफ्नो बच्चाहरुको भएको भनिसक्नुभएको अवस्था छ । दुवैतर्फको टोलीले अनुसन्धान गरिरहेका छौँ । केसमा संलग्न भएको आशंकामा किसानकुमार पण्डित र मुकेस पाशवान नियन्त्रणमा हुनुहुन्छ । केही व्यक्ति अझ फरार भएको भन्ने छ । खोजतलास जारी छ । शव गाढिएको अवस्थामा फेला परेकाले भारतमा नै पोस्टमार्टम हुन्छ ।’
उहाँले भारततर्फबाट घटनामा संलग्न भएको आशंकामा ३ जना नियन्त्रणमा लिएको अझै केही फरार भएकाले खोजि कार्य जारी रहेको बताउनु भयो । भारतीय प्रहरीले पक्राउ गरेका व्यक्तिहरुको नाम भने सार्वजनिक गरी नसकेको उहाँले बताउनु भयो ।
सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।