सङ्खुवासभाका खर्कमा रहेका भेडीगोठ चिसो छल्न औल झरे

 माघ १२, २०७९ बिहिबार ११:१२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

सङ्खुवासभा - हिमाली जिल्ला सङ्खुवासभाका माथिल्लो खर्कमा रहेका भेडीगोठ चिसो छल्न औलमा झरेका छन् । हिमाली खर्कहरुमा हिमपातपछि चरनको अभाव हुने भएकाले गोठ औल झारिएको हो । माथिल्लो भेगमा चिसो बढेपछि तल्लो क्षेत्रको वनजङ्गल र पाखाबारीमा भेडीगोठ झारिएको मकालु गाउँपालिका–४ सिम्माका काजीमान गुरुङले बताउनुभयो ।

मकालु र भोटखोला गाउँपालिकामा सबैभन्दा बढी भेडा उहाँकै गोठमा मात्रै छ । उहाँको गोठमा भाउ, खसी, साढ, पाठापाठी गरी करिब सात सयभन्दा बढी भेडा रहेका बताउनुहुन्छ । वार्षिक रुपमा उहाँ भेडा खसी र पाठापाठी गरी एक सयभन्दा बढी भेडा बेच्नुहुन्छ ।

'दशैँदेखि वैशाखसम्म प्रायजसो गुरुङ र राई जातिहरुको कुल पूजा धेरै हुन्छ, यो बेलामा भेडाको खोजी निकै हुने गरेको छ' गुरुङ बताउनुहुन्छ । वर्षमा दुई पटक भेडीगोठ लेकबेसी गर्ने गर्छन् । हिउँदमा चिसोबढे पछि उद्यौली औल अर्थात् बेसी झारेर भेडीगोठ राखिन्छ भने बर्खा लागेपछि उभौली अर्थात् लेक खर्कमा लगेर भेडीगोठ राख्ने गरिन्छ । बर्सातको समयमा लेक र हिउँदको समय बेसी गर्ने उनीहरुको परम्पराजस्तै हो । पुस र माघ दुई महिना भेडीगोठ गाउँनजिकै सिम्मागाउँ वरपरको खेत र बारीमा नै राख्ने गरिन्छ ।

फागुन लागेपछि गाउँभन्दा माथिका खर्कहरुमा जाने गरेको गुरुङले बताउनुभयो । अहिले लेकमा घाँस सकिएको र गाउँका बारीमा डालेघाँस हुँदा दुई महिना भेडालाई डालेघाँस खुवाएर पाल्ने गरिएको गुरुङको भनाइ छ । तर, पछिल्लो समय भेडीगोठ र गोठालाहरुको सङ्ख्या घट्दै गएको गुरुङ बताउनुभयो ।

पहिले–पहिले एउटै गाउँका हरेक घरको भेडीगोठ हुन्थ्याे । भेडापालनका लागि पर्याप्त चरन क्षेत्र भए पनि युवापुस्ताले ध्यान नदिएका कारण व्यवसाय गर्नेकाे सङ्ख्या बर्सेनि घट्दै गएको उहाँको भनाइ छ। ‘बूढापाका नसक्ने भए, युवा केटाहरु सहर, बजार बस्ने विदेशतिर जान थाले । अहिले भेडा पाल्ने कम भएका छन्’ गुरुङले भन्नुभयो।

अहिले सामुदायिक वनले चरन क्षेत्रमा प्रवेश निषेध गरेकाे र धेरै राजश्व लिन थालेपछि भेडापालन व्यवसायलाई समस्या पर्न थालेको छ । सामुदायिक वनमा भेडा चरन खुल्ला हुनुपर्ने भेडा पाल्ने व्यवसायीहरुकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया