क्यानका सदस्यले मागे कार्यसम्पादन समितिको राजीनामा

 माघ १५, २०७९ आइतबार १८:४०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सात जना केन्द्रीय सदस्यले नेपाल टी–२० लिग प्रतियोगिताको क्रममा 'स्पट फिक्सिङ' जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै कार्यसम्पादन समितिको राजीनामा मागेका छन् । 

क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउन अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले आइतवार पत्रकार सम्मलेन गरेर कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह, केन्द्रीय सदस्यहरू दुर्गाराज पाठक र पदक खड्कालाई राजीनामा दिन माग गरेका हुन् । 

केन्द्रीय सदस्य छुम्बी लामाले गैरकानुनी काम गरेको क्यान नेतृत्वले गल्ती भयो भन्दैमा उम्किन नपाउने र सम्झौता गलत भएको दाबी गर्नुभयो । गलत तरिकाले गरिएको सम्झौताका कारण उदीयमान खेलाडी सीआईबीको हतकडीमा पर्नुमा क्यान नेतृत्व दोषी रहेको लामाले बताउनुभयो । 

कीर्तिपुरको त्रिवि मैदानमा आयोजना भएको टी–२० लिग प्रतियोगितामा क्यानसँग सम्झौता गरेको रणनीतिक र व्यावसायिक साझेदार कम्पनी सेभेन थ्री स्पोट्र्सकै प्रमुख स्पट फिक्सिङमा संलग्न हुनु दुःखद रहेको भन्दै कार्यसम्पादन समिति दोषी रहेको उनीहरूकाे आरोप छ । लिगको साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनुको मुख्य दोष क्रिकेटको क्यान नेतृत्व भएको र महत्त्वपूर्ण निर्णय गर्ने क्यानको कार्यसम्पादन समिति नै यसको जिम्मेवार हुनुपर्ने पत्रकार सम्मेलनमा उपस्थित एक सदस्य ऋषिराम गौतमले बताउनुभयो । 'स्पट फिक्सिङ' हुँदा संस्था बिरलै प्रत्यक्षरूपमा संलग्न हुने गरेको तर साझेदार कम्पनी नै फिक्सिङमा संलग्न भएको भन्दै क्यान नेतृत्व र कार्यसम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न नमिल्ने उहाँले बताउनुभयो ।

सम्झौतामाथि टिप्पणी गर्दै आफूहरूले दुर्घटना हुने भन्दै सचेत गराउँदा पनि कार्यसम्पादन समितिले नेपाल टी–२० लिगको आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेर गल्ती गरेको अर्का केन्द्रीय सदस्य सञ्जयराज सिंहले बताउनुभयो । उहाँले नेतृत्वलाई बारम्बार सचेत गराउँदा समेत अ‍टेरी गरेको आरोप लगाउनुभयो ।

गएकाे पुस ९ देखि २७ गतेसम्म आयोजना भएको प्रतियोगितामा खेलाडीले पारिश्रमिक नपाएको र फिक्सिङका लागि 'अप्रोच' आएको सहभागी खेलाडीले नै बताएका थिए । खेलाडीको त्याे अभिव्यक्तिपछि लिगकाे विवाद बाहिरिएको थियो । त्याे घटनाक्रमपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लिगमा 'स्पट फिक्सिङ' भएको निष्कर्ष निकालेको थियो । प्रारम्भिक अनुसन्धानपछि सीआईबीले राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । साथै एकेन्द्र कुँवरको संयोजकत्वमा गठित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को छानबिन समितिले क्यान र सेभेन थ्री स्पोर्ट्सबीचको सम्झौता प्रतिवेदनले प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया पूरा नगरिएकाले तत्काल खारेज गर्न सुझाव दिएको थियो । क्यान र सेभेन थ्री स्टारबीच लिग आयोजनाका लागि आठ वर्षको सम्झौता भएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया