दाङकाे घाेराहीमा सात वर्षमा ४३ जलाशय निर्माण

 माघ १७, २०७९ मंगलबार १२:१६:२७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराही उपमहानगरपालिकामा सात वर्षको अवधिमा ४३ जलाशय निर्माण गरिएका छन् ।  जलाशय निर्माणपछि अहिले कृषि, माछापालन, पर्यटनजस्ता व्यवसायमा टेवा पुग्न थालेको घोराहीका मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो ।

जलाशय स्थानीय किसान र गाउँलेका लागि आयआर्जन र रोजीरोटीको माध्यम बनेको मेयर चौधरीले बताउनुभयो। मेयर चौधरी आउनुपूर्व नै घोराहीमा कृत्रिम जलाशय निर्माणको क्रम सुरु भएको थियो ।

उपमहानगरले सुरुवाती वर्षमा १२ वटा जलाशय निर्माण गरेको थियो । त्यसयता थप ३१ वटा जलाशय निर्माण गरेको थियो । जलाशय निर्माणसँगै स्थानीयले सिँचाइ सुविधा लिएर कृषि पेसाबाट राम्रो आम्दानी लिन थालेपछि उत्साहित रहेको वडा नं ५ का रमेश चौधरीले बताउनुभयो।

स्थानीयवासीले जलाशय बनेपछि बाह्रैमास सिँचाइ पाएको र माछापालन, तरकारी खेती, फलफूल खेतीतर्फ आकर्षित हुँदै गएको चौधरीले जानकारी दिनुभयो । जलाशय निर्माणमा करिब २० करोड २१ लाख रुपैयाँ बढीभन्दा खर्च भएको छ । घोराहीको करिब ९० बिगाहा क्षेत्रफलमा जलाशयले ओगटेको छ ।

घोराही उपमहानगरका १९ वडाहरु मध्ये १४ वडाहरुमा ती जलाशय निर्माण गरिएका छन् । घोराही नगरले मात्रै ३४ जलाशय निर्माण गरेको हो भने अन्य बाँकी जलाशय बृहत् सिँचाइ परियोजना र प्रदेश सरकारको लगानीमा निर्माण भएका हुन्। सबैभन्दा धेरै जलाशय वडा नं१७ मा निर्माण गरिएका छन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया