कर्णालीमा नेपाल एअरलाइन्सकाे टिकट अनलाइनबाटै काट्न सकिने

 माघ २०, २०७९ शुक्रबार १४:६:७ | नेत्र शाही
unn.prixa.net

जुम्ला - नेपालगञ्जबाट जुम्लासहित कर्णालीका दुर्गम जिल्लामा उडान हुने नेपाल एअरलाइन्सको जहाजमा अनलाइन ई-टिकट प्रणाली सुरु भएको छ । नेपाल एअरलाइन्सले बिहीवार हिजाेदेखि ई-टिकट प्रणाली सुरु गरेको हो ।  

नेपालगञ्जबाट उडान हुने जिल्लाहरु जुम्ला, हुम्ला, डोल्पा, मुगु, रुकुम र बाजुरामा अनलाइन टिकट सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले  कर्णालीमा पहिलो पटक याे सेवा सुरु गरिएको जानकारी दिनुभयो ।  

दुर्गमका नागरिकलाई जहिले पनि टिकट लिन सास्ती हुने भएकाले ई-टिकट प्रणाली सुरु गरिएको निगमले जनाएकाे छ । छिरिङ ल्हामु लामा तामाङले जुम्लाबाट सांसदमा निर्वाचित भएदेखि नै हवाई र यातायातका समस्या सामाधानका लागि पहल सुरु गर्नुभएकाे थियाे। उहाँले कर्णाली र जुम्लामा हवाई उडानको समस्या सामाधानका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई माग पेस गर्दै आउनु भएको छ ।  सांसद लामाको निरन्तर पहलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्णालीमा अनलाइन ई-टिकट प्रणाली सुरु गरेको हो । 

सांसद लामाले भन्नुभयो, 'सबैभन्दा कठिन जुम्लासहित कर्णालीले भोग्नुपरेको विषय जहाज र यातायातको समस्या हो । जहाज नियमित नहुने, त्यहाँ जाने जहाजमा टिकट वितरणमा समस्या भएकाले नागरिकले सास्ती भोग्दै आएकाले आफू सांसद बनेदेखि निरन्तर पहलमा छु।'

उहाँले गएकाे माघ ९ गते मन्त्री किराँतीलाई जुम्लामा ई-टिकट र विमानस्थल स्तरवृद्धिको लागि लिखित पत्र दिनु भएको थियो । उहाँले कर्णाली राजमार्गको समस्याका विषयमा मन्त्री नारायाणकाजी श्रेष्ठलाई समेत भेटेर माग राखेको बताउनु भएको छ ।

ई-टिकट प्रणाली लागू भएपछि सजिलो हुने भन्दै स्थानीय खुशी भएका छन् । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर कुँवर यसले नागरिकलाई सजिलो हुने बताउनुहुन्छ । सांसद छिरिङले भने अन्य निजी जहाजमा पनि अनलाइन टिकट लागू गर्न तथा विमानस्थलको स्तरवृद्धि गर्न पहल भइरहेकाे बताउनुभयाे । 

यहाँ हप्तामा दुई पटक सोमवार र मङ्गलवार नेपाल एअरलाइन्सको जहाजको तालिका अनुसार नियमित उडान भइरहेकाे छ । टिकट प्रणाली पारदर्शी नहुँदा र उडान कम हुँदा हरेक वर्ष जुम्लामा दशैँ तिहारको बेला निक्कै समस्या हुनेगर्छ । यस पटक नागरिकले  टिकट नपाइएको गुनासो गरेपछि स्थानीय प्रशासनले लोकसेवासहित परीक्षार्थीलाई प्रशासनमै नाम लेखाएर उडाउन बाध्य भएको थियो  । यस्तै, नागरिक समाजले नियन्त्रणमा लिएर जहाज र स्थानीय जनप्रतिनिधिको रोहवरमा नाम लेखाइ एक हप्ताका टिकट वितरण गरेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया