विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज, सुरुवाती चरणमै थाहा पाए सजिलै निको हुने

 माघ २१, २०७९ शनिबार ७:२२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज विश्व क्यान्सर दिवस : विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिशा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शङ्का गर्न सकिन्छ । क्यान्सरलाई नेपालीमा अर्बुद रोग भनेर पनि बुझिन्छ । नसर्ने रोग भए पनि क्यान्सर रोग विश्वव्यापी चुनौती बनेको छ । तर समयमै पहिचान र उपचार हुनसकेमा धेरै हदसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ ।

क्यान्सरलाई समयमा नै पहिचान गरेर राम्रोसँग उपचार गरे निको हुने डाक्टरको भनाइ छ । डाक्टरहरुका अनुसार शरीरमा कोशिकाको समूह अस्वाभाविक वृद्धि भएमा तिनै कोशिकाबाट गिर्खा या ट्युमर बन्ने गर्छन । फोक्सो, पाठेघर, आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा, स्तन र रगतको क्यान्सर धैरै हुने गर्छ ।

नेपालमा नै क्यान्सरको राम्रो उपचार हुन्छ । यसअघि डाक्टर, उपकरण, ल्याबलगायतको अभावका कारण उपचारका लागि विदेश जानुपर्ने बाध्यता थियो । तर अहिले ती सेवा नेपालमा नै उपलब्ध छन् । सरकारले क्यान्सर रोगलाई विपन्न सेवा भनेर उपचारका लागि एक लाख रुपैयाँ बराबरको सहुलियत पनि दिँदै आएको छ । तर यो सहुलियत रकम पर्याप्त नभएको गुनासो छ । डाक्टरका अनुसार खानपानका कारण ४० प्रतिशत र जाँडरक्सी तथा चुरोट सुर्तीका कारण ३० प्रतिशत क्यान्सर रोग लाग्ने जोखिम हुन्छ ।

यस्तै नियमित व्यायाम नगर्ने, विकिरणको जोखिमलगायतका कारण पनि क्यान्सर हुने गरेको छ । क्यान्सरबाट बच्नको लागि जाँडरक्सी र सुर्तीजन्य पदार्थ नखान, शरीरको तौल सन्तुलनमा राख्न, प्याकेटका खानेकुरा सकभर नखान डाक्टरको सुझाव छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया