हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी पहिलो चरणमा नछुट्ने

 माघ ७, २०८१ सोमबार ६:२४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने हुनुभएको छ ।

युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक हुँदा विपिनको नाम समावेश छैन ।  हमासले ३३ जनाको सूचीबाट तीन जनालाई युद्धविराम सम्झौता लागू भएसँगै रिहा गरेको छ । युद्धविरामको दोस्रो र तेस्रो चरणको कार्यान्वयनका विषयमा पहिलो चरणको १६ औं दिनदेखि थप छलफल गरिने सम्झौतामा उल्लेख छ ।

नेपाल सरकारले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि कुटनीतिक पहल गर्दै आएको छ । विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको छ । युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा परिवारमा छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । त्यहाँ गएको एक महिना नहुँदै इजरायलको दक्षिणी क्षेत्रको अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो ।

आक्रमणमा १० जना विद्यार्थीको ज्यान गएको थियो भने विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको थियो । त्यति बेलादेखि विपिनको अवस्था थाहा हुन सकेको छैन ।

विपिनका लागि सरकार गम्भीर भएर लागेको गृहमन्त्री रमेश लेखकले बताउनुभयो । ‘सरकारसँग प्राप्त सूचनाअनुसार विपिन हमासको नियन्त्रणमा सुरक्षित छन, विपिनको रिहाइका लागि सरकार गम्भीर भएर लागेको छ,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘अहिले हमास–इजरायल युद्धविराम भएको छ, हामी विपिनको सकुशल रिहाइ हुने आशामा छौँ ।’उहाँले विपिनको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताउनुभएको छ । 
 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया