हेटौँडामा बाघकाे आक्रमणबाट घाँस काट्न गएकी महिला घाइते

 माघ २५, २०७९ बुधबार १९:२९:१० | हरि हुमागाईं
unn.prixa.net

फाइल तस्बिर

हेटौँडा – हेटौँडाको हर्नामाडीमा जङ्गलमा घाँस काट्न गएकी महिला बाघले आक्रमणबाट घाइते भएकी छिन् । हेटौँडा उपमहानगरपालिका १८ हर्नामाडीकाे मानेडाँडा बस्ने ५६ वर्षकी मैती बयलकोटीलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो ।

आज दिउँसाे ४ बजेतिर घाँस काट्न जाँदै गर्दा सुकौरा जाने बाटोमा बाघले बयलकोटीलाई आक्रमण गरेको थियो । उनकाे गाला, ओठ र ढाडमा चोट लागेको र थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको ठुलोदमार प्रहरी चौकीका इन्चार्ज अर्जुनप्रसाद देवकोटाले जानकारी दिनुभयाे । उनको अवस्था सामान्य छ ।

घटना भएको स्थल रामधुनीबाट डेढ किलो मिटरकाे दुरीमा छ । हिजाे मङ्गलवारदेखि हेटौँडा १८ हर्नामाडीको गुम्बाडाँडामा बाघको त्रास बढेकाे छ । गाउँमा बाघले निरन्तररूपमा पशुचौपाया मार्ने र मानिसलाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन् । अहिले वन कार्यालयबाट घटनाबारे थप बुझ्न त्यसतर्फ गएको प्रहरी इन्चार्ज देवकोटाले बताउनुभयाे । 

पछिल्लो समय वनजङ्गलमा घाँस, दाउरा तथा खुला चरणमा रोक लगाएपछि त्यस क्षेत्रमा झाडी अत्यधिकरूपमा बढेको छ । त्यही कारणले गाउँमा वन्यजन्तुको प्रवेश भएको हुनसक्ने आँकलन स्थानीयले गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया