छिमेकी र आफन्तबाट १ करोड ६७ लाख सापटी लिई दम्पती फरार, प्रहरीले जाहेरी लिन मानेनन्

 असोज २६, २०७५ शुक्रबार ९:४:५२ | रासस

नवलपरासी – पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएको छ । दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले रु एक करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ । 

छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिई सापकोटा दम्पती सम्पर्कबिहीन भएका छन् । कावासोती नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक प्रेमशङ्कर मर्दनियाले सो विषयबारे छलफल भइरहेको बताउनुभयो । सापकोटा दम्पतीले विभिन्न पसलबाट सामान खरिद गरेर रकम तिरेका छैनन् । अधिकांशले कागज नगरी सापकोटा दम्पतीलाई रकम दिएका छन् । सबैभन्दा बढी कावासोती–८ का सुनिता तिमिल्सिनाले उनीहरुलाई रु ३० लाख दिनुभएको छ । 

“सापकोटा दम्पतीले छोरालाई विदेश पठाउन भनी दुई/चार दिनमै रकम फिर्ता गर्ने गरी सापटीस्वरुप रकम मागेका हुन्,” पीडित तिमिल्सिनाले भन्नुभयो । केही समय अघि घर बिक्री गर्नुभएका उहाँले कुनै प्रमाण नराखी रकम दिनुभएको छ । यस्तै स्थानीयवासी झवकला तिवारीले सापकोटा दम्पतीलाई रु २५ लाख दिनुभएको छ । यस्तै अन्यको रु ५० हजारदेखि रु १० लाखसम्म रकम लिएर सापकोटा सम्पती फरार भएका छन् । 

सापकोटा दम्पतीले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोरा विदेश पठाउन, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए । “छरछिमेकमा सरसापटी चलाउनु पर्छ भन्ने सोचेर कागज नगरी पैसा दियौँ,” पीडित सुना चापागार्इंले भन्नुभयो । उहाँले सापकोटा दम्पतीलाई रु ३० लाख दिएको बताउनुभयो । सापकोटा दम्पतीले कावासोतीको घर बिक्री गरी गत जेठदेखि फरार छन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले लेनदेनको विषयमा आवश्यक प्रमाण नभएको खण्डमा जाहेरी लिन नमिल्ने व्यवस्था अनुसार सापकोटा दम्पती विरुद्ध जाहेरी नलिएको बताउनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया