ग्यास ‘लिक’ र सिलिन्डर विस्फाेटबाट बच्न यी कुरामा ख्याल गरौँ

 फागुन ५, २०७९ शुक्रबार १२:१८:३३ | नेत्रप्रसाद काफ्ले
unn.prixa.net

एलपीजी ग्यासको कुरा गर्दा आगलागी हुनु र विस्फोट हुनु फरक कुरा हो । आगलागी हुनु  सिलिन्डर बनेको धेरै पुरानो भयो या धेरै जीर्ण भयो र हामी उपभोक्ताले त्यसलाई सचेत भएर नहेरेर पसलेले जस्तो सिलिन्डर दिए पनि ल्याउने र बाली हाल्ने गर्दा विस्फोट हुनसक्छ । यसमा सचेतना कमी भएको पाइन्छ । 

आगलागी हुने कारण केही फरक छ । जस्तै कतै नजिक आगो लागेको छ, सिलिन्डर नजिकै छ त्यो तातेको छ र क्याप पनि विस्फोट भयो भने त्यतिबेला आगलागी हुनसक्छ । सामान्यतया हामी उपभोक्ता यस्ता कुरामा सचेत भएनौँ भने पनि आगलागी हुनसक्छ । यसमा हामी सचेत हुनुपर्ने दुई/तीन वटा कुरा छन् । 

पहिलो हामीले ग्यास सिलिन्डर लिएर आएपछि त्यो नयाँ हो कि होइन, कहिले बनेको हो, सिरियल नम्बर के छ, क्याप कस्तो लगाएको छ, ती कुराहरु सिलिन्डर खरिद गरेर ल्याउँदा नै विचार पुर्याउनु पर्छ । 
अर्को भनेको सिलिन्डर लिएर आउँदा त्यसलाई लडाएर, घोप्ट्याएर ल्याउनु भएन । सिलिन्डरको क्याप लगाएको भागलाई माथि पारेर ठाडो बनाएर ल्याउनु पर्छ । ल्याइसकेपछि क्याप खोलेर रेगुलेटर जोड्ने बेलामा ग्यास चुहिएको छ कि छैन हेर्नुपर्यो । ग्यास चुहिएको छ भने त्यसको गन्ध आउँछ । सुरुमा खोल्ने बित्तिकै एकछिन गन्ध आउन सक्छ तर, पाँच/सात मिनेट छोडिदियो भने ग्यास चुहावट नभएको भए गन्ध आउँदैन र रेगुलेटर जोड्नु पर्छ । 

अर्को ध्यान दिनुपर्ने कुरो भनेको रेगुलेटर गुणस्तरयुक्त छ कि छैन भन्ने पनि हेर्नुपर्छ । गुणस्तरका लागि गुणस्तर चिह्न प्राप्त रेगुलेटर हो कि होइन भन्ने हेर्नुपर्छ । गुणस्तर तथा नापतौल विभागबाट स्वीकृत प्राप्त एनएस चिह्नसहितको रेगुलेटर हो कि होइन हेर्नुपर्छ । त्यस बमोजिमको ‘वायर’ हो कि होइन भन्ने ध्यान दिनुपर्छ । 

त्यस्तै जहाँ हामीले ग्यास राखेका हुन्छौँ, जहाँबाट भान्सामा लगेर बाल्छौँ त्यसलाई भान्साकोठाबाट अलि टाढा राख्नु राम्रो हुन्छ । अलि लामो पाइप ल्याएर राख्दा यदि ग्यास चुहावट भएको छ भने पनि भान्साकोठाभन्दा बाहिर नै चुहावट हुन्छ र आगलागी हुने खतरा कम हुन्छ । तर, सबैलाई त्यो सुविधा हुन्छ भन्ने छैन । एउटा, एउटा कोठा लिएर बस्नुपर्ने बाध्यता छ त्यसले गर्दा जुन ठाउँमा हामीले ग्यास प्रयोग गर्छौँ त्यो सकभर खुला र झ्याल ढोका खुला हुनुपर्छ । झ्याल, ढोका खोल्न मिल्दैन भने पनि त्यहाँ भेन्टिलेसनको व्यवस्था भएको हुनुपर्छ । 

सिलिन्डरको गुणस्तर पत्ता लगाउनको लागि गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिह्न पाएको हो कि होइन भन्ने कुरा विचार गर्नुपर्छ । र क्याप, रेगुलेटर तथा पाइप पनि गुणस्तर चिह्न पाएको हो कि होइन हेर्नुपर्छ । 

सिलिन्डरबाट चुल्होमा पाइपमार्फत् ग्यास जोडिसकेपछि कतै चुल्होको नोक खुलिरहेको छ कि, सिलिन्डरको मुख्य भल्भ खुलिरहेको छ कि, भान्सामा ग्यासको गन्ध आएको छ कि छैन भनेर पहिले यी कुराहरुमा ध्यान दिनुपर्छ । 

भान्सामा गएर ग्यास बाल्नु अगाडि आगलागी हुनसक्ने सलाई, लाइटर, बिजुली बत्ती तथा स्वीचहरु पहिले खोल्नु भएन । यदि ग्यासको गन्ध आइरहेको छ भने पहिले झ्याल ढोका खोलेर एकछिन पछि ग्यासको गन्ध पूर्णरुपमा हराएपछि मात्र ग्यास खोल्नुपर्यो । त्यतिबेला बिजुलीको स्वीच पनि चलाउनु हुँदैन ।

नेपाल आयल निगमले ग्यास सिलिन्डरको आयु १५ वर्षको हुने भनेर मान्यता दिएको छ । र १५ वर्षपछि त्यसलाई नष्ट गर्नुपर्छ भनेर निगमले भनेको छ । तर, सिलिन्डर उद्योगीले त्यसको नियमित हेरचाह भने गरिरहनु पर्यो । उपभोक्ताले प्रयोग गरेर उद्योगमा ग्यास भर्नका लागि सिलिन्डर आइसकेपछि कहीँकतै टुटफुट भएको छ कि, चाप (प्रेसर) जाँच गर्ने प्रविधिले चाप पनि जाँच गरेर पुनः ग्यास भरेर बजारमा पठाउनु पर्छ । हामीले अहिले १५ वर्षको समय दिएका छौँ सिलिन्डरका लागि तर, १५ वर्षपछि त्यसलाई नष्ट नै गर्नुपर्छ भन्ने पनि होइन यदि त्यसले ग्यासको चाप धान्न सक्छ र जाँचपछि सबै कुरा ठीक छ भने पुनः प्रयोग गर्न पनि सकिन्छ । 

कतै बिक्रेताले पनि प्रलोभनमा परि त्यस्ता गुणस्तरहीन सिलिन्डर बेचिरहेको छ भने त्यसलाई निगमले पनि समय, समयमा अनुगमन गर्ने गरेको छ । यसको नियमन गर्ने निकाय भनेको वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग हो । त्यसको बजार निरीक्षण गर्ने र कारबाही गर्न सक्ने अधिकार विभागलाई छ । हामीले पनि निरीक्षण गर्छौँ तर, सरकारी तवरबाट त्यसलाई नियमन गर्ने दण्ड, जरिबाना गर्ने भनेको वाणिज्य विभागले नै हो । त्यो अधिकार हामीलाई छैन । हामीले त्यस्तो देख्यौँ भने हामी सिफारिस गर्छौँ र उहाँहरुले पनि समय, समयमा दण्ड, जरिबाना गरेको हामीले सुनेका पनि छौँ । 

उद्योगीलाई जिम्मेवार बनाउने कुरामा कुनै पनि व्यवसायीले आफ्नो व्यवसाय धराशायी होस् भन्ने उद्देश्य पक्कै राख्दैन । उहाँहरु पक्कै पनि सचेत हुनुहुन्छ । दुर्घटना भनेको अपर्झट आइपर्ने कुरा हो । सम्पूर्ण टिम बसेर ठीक छ भनेर उडाएको जहाज त कहिलेकाहीँ दुर्घटना हुन्छ भनेपछि यसमा पनि सचेत हुँदाहुँदै पनि अपर्झटरुपमा दुर्घटना हुन पुगेको देखिन्छ । उद्योगले पक्कै पनि सचेतना अपनाएकै हुन्छ ।

तर, काम गर्दा कहिलेकाहीँ हेलचेक्र्याइँ हुनसक्छ । काम गर्दा अलिकति ध्यान नपुगेको हुनसक्छ । त्यसकारण उहाँहरु जवाफदेही नभएको, सचेत नभएको भन्ने कदापि होइन किनकि कुनै एउटा कम्पनीको ग्यास सिलिन्डर दुर्घटना भयो भने बजारमा त त्यसको नाम आउँछ र बजारमा त्यो कम्पनीको ग्यास प्रयोग नगर्ने भन्ने भइहाल्छ । त्यसकारण उद्योगीहरु सचेत हुन्छन् नै तर, कहिलेकाहीँ हुने सानातिना हेलचेक्र्याइँ वा भुलवश त्रुटि हुन जाने कारणले दुर्घटना हुनजान्छ । तर, दुर्घटनाका कारण आफ्नो व्यवसाय नै धराशायी हुने हुँदा उद्योगीहरुले जानाजान त्यस्तो काम भने गर्दैनन् । 

ग्यासबाट हुने दुर्घटना न्यूनीकरणका लागि बिक्रेताले उद्योगीसँग ग्यास सिलिन्डर खरिद गर्दा गुणस्तरयुक्त सिलिन्डर हो कि होइन, क्याप राम्रोसँग लागेको छ कि छैन, तौल पुगेको छ कि छैन भनेर हेरेर लिनुपर्छ । किनकि उद्योगीसँग उपभोक्ता सिधा जोडिएको हुँदैन । उद्योगीसँग सिधा जोडिने भनेको बिक्रेता नै हो । यसकारण बिक्रेताले राम्रोसँग ख्याल गरेका खण्डमा उपभोक्ताले गुणस्तरयुक्त ग्यासको सिलिन्डर पाउँछ । अर्को भनेको उद्योगीले ग्यास भरेर बजारमा पठाउने हुँदा उद्योगीले प्रत्येक पटक सिलिन्डर भर्दा सिलिन्डर गुणस्तरयुक्त छ कि छैन, तौल पुगेको छ कि छैन, क्याप कस्तो छ भनेर ध्यान दिएका खण्डमा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । 

बिक्रेताले पनि किन ध्यान दिन जरुरी छ भने कुनै उपभोक्ताले उजुरी गरेको खण्डमा बिक्रेता फेरि उद्योगीकहाँ पुग्नुपर्ने हुन्छ । यसमा बिक्रेताको समय तथा लागत दुवै लाग्ने भयो । 

उपभोक्ताले ग्यास खरिद गर्दा अहिलेसम्म हामीले सबै बिक्रेतामाथि निरीक्षण गरिरहेको हुँदा यो बिक्रेताबाट खरिद गरेको राम्रो र यो नराम्रो भन्ने छैन । सबैमाथि हामीले समान किसिमले निगरानी गरिराखेका हुन्छौैँ । निगमले नियुक्त गर्ने भनेको उद्योगी मात्र हो । बिक्रेताहरु भने उद्योगले नै नियुक्त गर्ने हो निगमले गर्ने होइन । यसकारण यो बिक्रेता ठीक र यो बेठीक भनेर निगमले विश्लेषण गरेको छैन । र, यो निगमको विषय पनि होइन । 

भान्साकोठामा कसरी सुरक्षित भएर ग्यासको प्रयोग गर्ने भन्ने सन्दर्भमा हामीले सचेत गराउनका लागि विभिन्न पत्रपत्रिकामा विभिन्न समयमा प्रकाशन गर्दै आएका छौँ । तर, पनि केही कुराहरु फेरि हामी यहाँ राख्छौँ । जस्तो, 
१) सिलिन्डर ल्याउँदा, लैजाँदा गुडाउने नगरौँ
२) भान्सामा सिलिन्डर सधैँ ठाडो राखेर प्रयोग गरौँ
३) रेगुलेटर, रबर, पाइप जस्ता उपकरणहरु गुणस्तरीय मात्र प्रयोग गरौँ 
४) हरेक दुई वर्षमा ग्यासको पाइप फेरौँ
५) खाना पकाउँदा सधैँ झ्याल, ढोका खुला राखौँ
६) सुतीको कपडा लगाएर मात्र खाना पकाउने गरौँ 
७) ग्यासको काम सकिएपछि सधैँ रेगुलेटर बन्द गरौँ । 

अब केही गरी ग्यास चुहावट भइहाल्यो निम्न कुरामा ध्यान दिनुपर्छ :

१) खाना पकाउने ग्यासमा तिखो गन्ध आइरहेको छ भने ग्यास चुहावट छ भन्ने कुरा बुझ्नुपर्छ 
२) ग्यास चुहावट भएमा पहिले रेगुलेटर तथा त्यसपछि चुल्होको ‘नब’ बन्द गर्नुपर्छ 
३) झ्याल, ढोका खुला राख्नुपर्छ 
४) झिल्का निस्कने वस्तुहरु जस्तै: सलाई, लाइटर, धुप चुहावट भएको ठाउँमा नबालौँ
५) विद्युतजन्य उपकरणको प्रयोग नगरौँ । स्वीच अन छ भने अफ नगरौँ, अफ छ भने अन नगरौँ।
६) ग्यास चुहावट भएमा रेगुलेटरलाई सिलिन्डरबाट छुटाइ सिलिन्डरमा सेफ्टी क्याप लगाइ बाहिर खुला ठाउँमा राखौँ 
७) यथाशीघ्र नजिकको ग्यास बिक्रेता वा उद्योगसँग सम्पर्क गरौँ या प्रहरी र दमकललाई खबर गरौँ ।

(काफ्लेसँगकाे कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: बैशाख ५, २०८१

नेत्रप्रसाद काफ्ले

काफ्ले नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया