शिक्षामा लगानी गर्न कन्जुस्याइँ गरे देश बन्न सक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

‘बरु रेल बनाउने काम केही समय राेके हुन्छ, शिक्षामा लगानी बढाऔँ’

 फागुन ९, २०७९ मंगलबार १७:२२:४४ | रासस
unn.prixa.net

गोरखा – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रका लागि अहिले विनियोजन हुँदै आएको बजेट पर्याप्त नभएको बताउनुभएको छ । 

गोरखा सदरमुकाममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गोरखाको सातौँ जिल्ला अधिवेशनलाई आज मङ्गलवार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको विकासका लागि बजेट पर्याप्त नभएको बताउनुभएको हो । ‘शिक्षालाई विकास र समृद्धिको मुख्य कडी मान्ने तर शिक्षा क्षेत्रमा लगानी बढाउन तयार नहुने यो अन्तरविरोधलाई कायम राखेर हाम्रो समृद्धिको लक्ष्य पूरा हुन सक्दैन’, उहाँले भन्नुभयो, ‘बरु रेल बनाउने काम केही समय रोके हुन्छ तर मुख्य जग शिक्षालाई उन्नत बनाउन एकीकृत योजना चाहिन्छ, त्यसका निम्ति साधन स्रोतको पनि व्यवस्था गर्नुपर्छ ।’

मन्त्री श्रेष्ठले अहिलेको लगानी असाध्यै अपूर्ण रहेको भन्दै शिक्षामा लगानी गर्न कन्जुस्याइँ गरे देश बन्न नसक्ने बताउनुभयो । ‘सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन सकेमात्र शिक्षा क्षेत्रलाई समाजवादको दिशामा अगाडि बढाउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘देश रूपान्तरणमा शिक्षा क्षेत्रको विकास महत्त्वपूर्ण पाटो हो ।’

उहाँले विदेशिएका युवाहरूलाई स्वदेश फर्काउनका लागि समृद्ध नेपाल निर्माण गर्नसक्नुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रको विकासका लागि शिक्षकलाई प्रविधिमैत्री बनाउँदै उनीहरूको क्षमता विकासमा जोड दिनुपर्ने आवश्यकता रहेको उपप्रधानमन्त्री श्रेष्ठले औँल्याउनुभयो ।

उहाँले शिक्षकहरूले नेपालको राजनीतिक परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रंशसासमेत गर्नुभयो । उहाँले अहिलेको मुख्य काम सामाजिक न्यायसहितको समृद्धि भएको भन्दै समृद्धिको लक्ष्य प्राप्तिका लागि शिक्षा क्षेत्रको आमूल परिवर्तन पहिलो आवश्यकता रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया