तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड आजदेखि १० दिनसम्म राति चार घण्टा बन्द हुने

 फागुन १८, २०७९ बिहीबार ११:४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड आजदेखि १० दिन दैनिक चार घण्टा बन्द हुने भएको छ । 

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत यो खण्डमा काम गर्नका लागि आज राति १२ बजेदेखि दैनिक चार घण्टा राजमार्ग बन्द गर्न लागिएको हो ।

मुग्लिन पोखरा सडकखण्डको विस्तार कार्यअन्तर्गत यो खण्ड आज राति १२ बजेदेखि बिहान ४ बजेसम्म यो खण्ड बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो ।

अत्यावश्यक सेवाका गाडी भने जुनसुकै बेला चल्ने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । राजमार्ग बन्द नगर्दा काम गर्न अप्ठ्यारो हुने भएकाले १० दिनका लागि सडक बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ ।

आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्ड विभाजन गरी राजमार्ग विस्तारको काम भइरहेको छ ।

दुवै खण्डको अहिलेसम्मको प्रगति १० प्रतिशत छ । सम्पन्न गर्नुपर्ने म्याद १४ महिना बाँकी रहँदा कामको प्रगति सुस्त हुँदा समयमै काम सम्पन्न नहुने आशङ्का छ ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति १५ दशमलव पाँच प्रतिशत छ । यो खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ । 

विद्युत् पोल स्थानान्तरण नहुँदा काम सुस्त छ । त्यस्तै जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति चार दशमलव एक प्रतिशत मात्रै छ ।

यो खण्डमा पनि कामको गति सुस्त देखिएको छ । यो खण्डमा पनि भित्ता काट्ने र वाल बनाउने काम भइरहेको छ ।

पूर्वी खण्डको कामका लागि २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

४१ दशमलव ४५ किलोमिटरको यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको काम गर्ने म्याद २०८१ वैशाखसम्म छ ।


 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया