कृषि बीमामा किसानकाे आकर्षण बढेन

 फागुन २२, २०७९ सोमबार १६:६:० | दीपक भट्ट
unn.prixa.net

फाइल फाेटाे

रामेछाप – कृषि बीमामा रामेछापका किसानकाे आकर्षण बढ्न सकेकाे छैन । कृषि बीमा गरेका किसानले बीमा दाबी गर्न जाँदा प्रक्रिया झन्झटिलो भएकै कारण कृषि बीमाप्रति उनीहरूकाे आकर्षण बढ्न नसकेको हो ।

सरकारले बालीनाली र पशुपालनमा लागेका किसानले बेहाेर्नुपर्ने सम्भावित क्षतिको जोखिम कम गर्न कृषि बीमा कार्यक्रम लागू गरेको लामो समय भए पनि त्यसको कार्यान्वयन भने खासै देखिएको छैन । कृषि बीमा गर्न इच्छुक किसानलाई बीमाङ्कको ८० प्रतिशत रकम सरकारले नै बेहाेर्ने गरेको छ भने २० प्रतिशत रकम स्वयम् किसानले बेहोर्नुपर्छ । बीमाङ्ककाे ८० प्रतिशत रकम सरकारले बेहाेर्ने भए पनि कृषि बीमामा किसानकाे खासै आर्कषण देखिएको छैन ।

बीमा रकम लिन गर्नुपर्ने प्रक्रिया झन्झटिलो भएका कारण यसतर्फ आफूहरूको आकर्षण कम भएको मन्थली नगरपालिका–५ सुनारपानीका किसान रुद्रबहादुर कार्कीले गुनासाे गर्नुभयाे । ‘थोरै खेतीयोग्य जमिनमा लगाएको बालीको इन्सुरेन्स कम्पनीले बीमा गर्नै नमान्ने रहेछन् । उनीहरूलाई धेरै जग्गामा खेती गरेको हुनुपर्ने रे । आफ्नो जग्गा नै थोरै छ के गर्नु ? त्यसैले अहिलेसम्म बीमा गरेको छैन’, कार्कीले भन्नुभयाे । 

जिल्लामा कृषि बीमा गर्ने कम्पनीहरू धेरै भए पनि उनीहरूले सोचेजति काम गर्न नसकेका एनएलजी इन्सुरेन्स कम्पनी रामेछापका प्रमुख मोहन धमालाले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘जिल्लामा व्यावसायिक खेती गर्नेभन्दा बढी निर्वाहमुखी भएका कारण समस्या रहेको छ । अर्कोतिर थोरै खेती गर्ने किसानकाे बीमा गर्न झन्झटिलो छ । जिल्लामा प्राविधिक जनशक्तिको कमी छ । त्यसैले केही किसानले बीमा गरे पनि प्राविधिक काठमाण्डौदेखि झिकाउनुपर्ने बाध्यता रहेकाले हामीले पनि त्यति धेरै चासो दिएका छैनौँ ।’

कृषि बीमामा आकर्षण बढाउन पालिकाले गाउँगाउँसम्म जनचेतना जगाउन सके बीमा गर्ने किसानको सङ्ख्यामा वृद्धि हुने सराेकारवालाहरू बताउँछन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया