यती एअरलाइन्सको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप

 चैत १, २०७९ बुधबार १७:०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले यती एअरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित 'विमान दुर्घटना जाँच आयोग' को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ ।

हिजाे मङ्गलवार फागुन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्ताे निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकारले गएकाे माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको सत्य/तथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको थियो ।

विमान दुर्घटनाको कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन भएकाे हो । आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इन्जिनिर एकराजजङ्ग थापा हुनुहुन्छ । आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया