रियल मड्रिड च्याम्पियन्स लिगकाे क्वाटरफाइनलमा, नेपाेली पहिलाे पटक अन्तिम ८ मा

 चैत २, २०७९ बिहिबार ७:८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : लाइभ स्काेर

काठमाण्डाै – स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएकाे दोस्रो लेगमा इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोल अन्तरले हराउँदै समग्रमा ६–२ गाेल अन्तरको जितसहित रियल मड्रिड अन्तिम ८ मा पुगेकाे हाे । 

पहिलो लेगमा रियल मड्रिडले लिभरपुललाई ५–२ गोलकाे फराकिलाे अन्तरले हराएको थियो । बुधवार राति घरेलु मैदान सान्टियागो बर्नबेउमामा भएकाे खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमाले गाेल गरे ।

यस्तै बुधवार राति नै भएकाे अर्काे खेलमा इटालियन क्लब नेपोली पहिलाे पटक यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेकाे छ । जर्मनकाे आइनट्राख्ट फ्रान्कफुर्टलाई दोस्रो लेगमा ३–० गाेल अन्तरले हराउँदै समग्रमा ५–० गाेल अन्तरको जितसहित नेपोली पहिलो पटक क्वाटरफाइनलमा पुगेकाे हाे । 

पहिलाे लेगमा नेपाेलीले आइनट्राख्ट फ्रान्कफुर्टलाई २–० गाेल अन्तरले हराएकाे थियाे । बुधवार राति घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा भएकाे खेलमा नेपाेलीका लागि भिक्टर ओसिमहेनले २ र पिओटर जिलेन्स्कीले १ गोल गरे ।

याेसँगै च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा भएकाे छ । क्वाटरफाइनल 'ड्र' यूईएफए मुख्यालय स्विट्जरल्यान्डको नियोनमा भाेलि शुक्रवार हुँदैछ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया